अर्जुन भुसाल
किमडाँडा, अर्घाखाँची मंसिर १ । वाम गठवन्धका प्रतिनिधि सभा सदस्य पदका साझा उम्मेद्वार टोपबहादुर रायमाझीले वाम गठवन्धका उम्मेद्वाहरुले विजयी हासिल गरेपछि अर्घाखाँचीमा विकास निर्माणका काममा व्यपकता आउने दावी गर्नु भएको छ ।
संयुक्त वाम गठवन्धले सन्धिखर्क ८ किमडाँडाको मुख्खेका चौर, पकले बजार र गाजरीमा गरेको चुनावी सभाहरुलाई सम्वोधन गर्दै उहाँले आफू पटक पटक मन्त्री वन्दा जिल्लामा धेरै विकास निर्माणका कामहरु गरेको बताउँदै अव पुन विजयी हासिल गरेपछि अझै धेरै कामहरु गर्ने बताउनु भयो । उहाँले जिल्लामा सडक सञ्जाल विस्तार गर्ने, पुल, भवन निर्माण, शिक्षा स्वास्थ्य खानेपानी लगायतका थुप्रै क्षेत्रमा आफूले काम गरेको बताउनुभयो । नेता रायमाझीले अब सडकलाई पक्की गर्ने, वेरोजगार युवाहरुलाई स्वरोजगार प्रदान गर्ने, खानेपानीको समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्ने लगायतका योजनाहरु रहेको बताउनु भयो ।
प्रदेश सभा क्षेत्र नं. १ का उम्मेद्वार तथा एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्यले अर्घाखाँचीलाई देशेकै नमूना जिल्लाको रुपमा परिणत गर्ने दावी गर्दै आफूले विजयी हासिल गरेपछि सम्पूर्ण समयलाई जनताको पक्षमा लगानी गर्ने बताउनुभयो । उहाँले आफलेू विभिन्न जटिल प्रकारका रोगहरुलाई जित्दै नयाँ जीवन पाएकोले नाफाको जीवनलाई समाज सेवामा समर्पित गर्ने बताउनुभयो । उहाँले अर्घाखाँचीका वाम गठवन्धका तीन ओटै उम्मेद्वारहरुको जित सुनिश्चित भएको दावी गर्दै आफूहरु भारीका साथ जित्नका लागि कसरतमा जुटेको बताउनुभयो । आचार्यले जिल्ला बासीका हरेक समस्याहरुलाई हल गर्दै समुन्नत समाज निर्माण गर्ने आफूहरुको मुख्य एजेण्डा रहेको बताउनु भयो ।
कार्यक्रमममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय तथा वाम गठवन्धका प्रचार प्रसार संयोजक चन्द्र बहादुर खड्का उज्जवल, नेकपा माओवादी केन्द्रकी प्रदेश सभा समानुपातिक उम्मेद्वार छमकुमारी खनाल, नेकपा एमालेका नेता लक्ष्मण रायमाझी, एमाले जिल्ला उपसचिव प्रेमनारायण गैरे, सचिवालय सदस्य तथा सन्धिखर्क नगर कमिटीका संयोजक युवराज श्रेष्ठ, सचिवालय सदस्य वुद्धिराम भुसाल, सरोज भुसाल, इश्वरा पोख्रेल, एमाले जिल्ला कमिटी सदस्य नारायण अर्याल, एमाले सन्धिखर्क नगर कमिटी सचिव श्रीकृष्ण भुसाल, माओवादी केन्द्रका नेता राजेन्द्र भुसाल रामबहादुर रायमाझी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम सन्धिखर्क नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसाल र नेकपा माओवादी केन्द्रका स्थानीय नेता गोकर्ण वञ्जाडेको सञ्चालनमा सम्पन्न भएको थियो ।