शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची मंसिर-२ । वामगठबन्धन सन्धिखर्क अर्घाखाँचीले चुनावी प्रचार प्रसारको कामलाई तिव्र पारेको छ ।
गठबन्धनले नगरका विभिन्न वार्ड तथा टोल-टोलमा पुगी निर्वाचन परिचालन समिति तथा विभिन्न उप समितिहरु निमार्ण गरी पार्टी कार्यकर्ता शुभेच्छुक तथा समर्थकहरु प्रशिक्षित गरेको छ ।
यसैगरी गठबन्धनका कार्यकर्ताहरुले टोल तथा कोण सभाहरु गरी मतदातालाई आफ्नो पक्षमा पार्नै प्रयत्न गरेका छन् । गठबन्धनले आज सन्धिखर्क नगरपालिका अन्तर्गत साविकका वडा नम्वर १, २, ३, ४ का अगुवा कार्यकर्ताको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरुले राष्ट्रियताको रक्षा, सरकारको स्थायित्व, शान्ति र सुशासनका निम्ति वाम गठबन्धनका उम्मेदवारहरुलाई विजय गराउन आग्रह गरेका छन् । मूलुकको परिवर्तनमा महत्वपूर्ण भूमिका खेलका कम्युनिष्टहरुबाट मात्र राष्ट्र निर्माण सम्भव भएको वक्ताहरुको भनाई छ ।
यसरी मन्तव्य राख्नेहरुमा नेकपा (माओवादी केन्द्र) केन्द्रीय सम्मेलन आयोजक समितिका सदस्य देव बहादुर रायमाझी, नेकपा (एमाले) का नेता खुवीराम आचार्य, महिला नेतृ तुल्सी रायमाझी, मेख बहादुर कार्की, वल बहादुर रायमाझी लगायत हुनुहुन्थ्यो ।
भेलाले चुनाव प्रचार प्रसारको लागि विभिन्न समिति तथा उप समितिहरु निर्माण गरेको छ ।