गोपाल प्रसाद भट्टराई
सुवर्णखाल, अर्घाखाँची । सरसफाइको अभावमा नेपालमा ५ बर्ष मुनिका १० हजार पाँचसय बालबालिकाको हरेक बर्ष ज्यान गाने गरेको विश्व स्वास्थ्य संगठनले दाबी गर्दै आएको छ ।
यि र यस्ता घटनालाई न्युनिकरण गर्न सन् २०१७ भरिमा सबै नेपालीको घरमा सरसफाई सुविधा पुर्याउने र सिगों नेपाल नै खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने सरकारको लक्ष्य अनुसार देशकै १७ औ जिल्लाको रुपमा खुल्ला दिसामुक्त घोषणा भैसकेको अर्घाखाँचीले आज घरघरमा प्रयोगकर्ता मैत्री सफा चर्पी हामी जिम्मेवार,सुरक्षित पानी स्वस्थकर आनीवानी हाम्रो सरोकार भन्ने नाराका साथ जिल्ला सदरमुकाम सन्धिखर्क संगै सुवर्णखाल, धरापानी, धनचौर , धातिवाङ, सिद्दारा लगायतका विभिन्न स्थानहरुमा बिभिन्न सचेतनामुलक कार्यक्रम गरि विश्व चर्पी दिवस मनाएको छ ।
चर्पी दिवसको अबसरमा सन्धिखर्क नगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसालले सरसफाइको पहिलो सुचक अनिवार्य चर्पी निर्माण तथा प्रयोग रहेको बताउंदै सफा र स्वच्छ नगर बनाउन आफुहरु लागि परेको जानकारी गराउनुभएको छ ।
घरघरमा प्रयोगकर्ता मैत्री सफा चर्पी हामी जिम्मेवार, सुरक्षित पानी स्वस्थकर आनीवानी हाम्रो सरोकार भन्ने नाराका साथ सन्धिखर्क नगरका उप मेयर ठाकुर कुमार वि.क.को अध्यक्षता र प्रवक्ता लिला गौतमको सञ्चालनमा सम्पन्न भएको भएको कार्यक्रममा चर्पी दिवस र चर्पीको महत्वका बारेमा यु एन ह्याविटाटका जिल्ला संयोजक विष्णु दवाडीले प्रकास पार्नु भएको थियो ।
सन्धिखर्क नगरभित्रका सरोकारवालाहरुको सहभगितामा सम्पन्न भएको चर्पीको प्रयोग र महत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले ब्यबहारमा परिवर्तन नआएसम्म स्रोत भएरमात्र सरसफाई हुन नसक्ने भन्दै जिल्लाका गांउ-गाउंमा जनचेतना अभियान संचालन गर्नुपर्नेमा जोड दिएका छन् ।
अर्घाखाँचीमा सन २०२० सम्ममा जिल्लालाइ सरसफाइमा नेपालकै नमुना जिल्ला बनाउने लक्ष्य का साथ अभियान संचालन भइरहेको छ ।