अर्घाखाँचीमा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी कार्यक्षेत्रमा खटिए (भिडियो-तस्बिर सहित)


प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा दोस्रो चरण अन्तरगत मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सुरक्षाका लागि ८५३ जना म्यादी प्रहरी खटिएका छन् । म्यादी प्रहरीको तालिम सकिए लगतै उनीहरुलाई आ – आफनो कार्यक्षेत्रमा खटाइएको हो ।
चुनावको सुरक्षालाई मध्येनजर गर्दै छनोट गरिएका आठ सय ५३ जना म्यादी प्रहरीलाई नियुक्तिपत्र दिएर खटाइएको हो । मतदानस्थल तथा केन्द्रमा नेपाल प्रहरीको मातहतमा रहेर उनीहरुले काम गर्ने प्रहरी नायव उपरीक्षक एक नारायण कोईरालाले बताए । म्यादी प्रहरी अर्घाखाँची जिल्लाका ३  वटा ईलाका प्रहरी कार्यालय, १२ प्रहरी चौकी र १ जिल्ला प्रहरी कार्यालयको मातहतमा रहने छन् ।
मतदानस्थल तथा मतदान केन्द्रमा शान्ति सुरक्षा कायम गर्न चुनावी सुरक्षाका लागि खटिन लागेका उनीहरुले निर्वाचनलाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रहरी नायव उपरीक्षक कोईरालाले बताए ।
अर्घाखाँची जिल्लामा कुल मतदान केन्द्रको संख्या १७४ रहेको छ । जिल्लाका सन्धिखर्क, भूमिकास्थान, शितगंगा नगरपालिका र पाणिनी, छत्रदेब, मालारानी गाउँपालिकाका बिभिन्न मतदानकेन्द्रको तयारी अन्तिम चरणमा पुगेको छ ।  यस्तै जिल्लाभर आगामी मंसिर २१ गते, बिहिबार बिहान ७ बजे देखि अपरान्ह ५ बजे सम्म मतदान हुँदैछ ।
सरकारले म्यादी प्रहरीलाई प्रहरी जवानसरह मासिक १७ हजार दुई सय ३० रुपैयाँका दरले ५५ दिनको पारिश्रमिक, रासन र स्थानीय भत्ता दिनेछ । यस्तै, निर्वाचनको वेला सात दिनका लागि दैनिक पाँच सय रुपैयाँ विशेष भत्ता र खानारखाजा खर्च उपलब्ध गराउने छ । निर्वाचनका क्रममा कुनै म्यादी प्रहरी घाइते भएमा सरकारले उपचारका लागि नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक कार्यविधि २०६८ अनुसार बढीमा एक लाख ५० हजार रुपैयाँसम्मको उपचार खर्च पाउने छन्।
यस्तै, निर्वाचनमा खटिनेक्रममा कुनै म्यादी प्रहरीको मृत्यु भएमा निजको आश्रित परिवारलाई १५ लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराइनेछ । सरकारले हरेक म्यादी प्रहरीलाई पोसाक भत्ताको रूपमा चार हजार र निर्वाचनमा खटिने ठाउँमा जाने र फर्कने बाटो खर्चको रूपमा थप एक हजार रुपैयाँ बाटोखर्चसमेत दिने छ ।


अन्य समाचारहरु