सन्धिखर्क, तुमकोट, छापडाँडा, हटारीमा वाम गठबन्धनको चुनावी सभा सम्पन्न , निर्वाचन पछि मूलुकमा नयाँ युगको थालनी हुने टोप बहादुर रायमाझीको भनाई (भिडियो तस्बिर सहित )
मंसिर ९ गते, २०७४ मा प्रकाशित
शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची मंसिर-९ । संयुक्त वाम गठबन्धन निर्वाचन क्षेत्र नं. २ अर्घाखाँचीले शनिबार सदरमुकाम सन्धिखर्कमा विशाल चुनावी सभा सम्पन्न गरेको छ ।
चुनावी सभालाई सम्वोधन गर्दै पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन पछि मूलुकमा नयाँ युगको थालनी हुने बताउनु भएको छ । उहाँले संविधान निर्माण र कार्यान्वयन पछि नेपालमा क्रान्तिको युगको अन्त्य भई विकास र निर्माणको युगको शुरुवात हुने बताउनु भयो । रायमाझीले अब नेपाली जनता अधिकारको लागि लड्नु पर्ने अवस्थाको अन्त्य भएको भन्दै, कम्युनिष्टहरुको नेतृत्वमा आर्थिक क्रान्ति सम्पन्न हुने दावी समेत गर्नु भयो ।
नेपाल प्राकृतिक र वातावरणीय दृष्टिकोणले संसारकै सबभन्दा उपयुक्त मूलुक हुँदा हुँदै पनि संसारकै गरिव राष्ट्रको सुचीमा हुनु दुर्भाग्य पूर्ण भएको उहाँको भनाई छ । मूलुकका ठूला दुई वामपन्थी दलहरु बीच भएको चुनावी गठबन्धन र त्यसपछि हुने पार्टी एकताले नेपाली जनताको भाग्य र भविश्यको फैसला गर्ने भन्दै रायमाझीले अब नेपाली जनतालाई रोग, शोक र गरिवीबाट मुक्त पार्ने दावी गर्नु भयो ।आफूले जनप्रतिनिधि भएर जिल्लामा विकासको ढोका खोल्न सफल भएकोमा प्रशन्नता प्रकट गर्दै छोटो अवधिमा पनि सडक, विजुली, खानेपानी, शिक्षा, स्वास्थ्य र पर्यटनका क्षेत्रमा उल्लेख्य काम गरेको उहाँको भनाई छ ।
अर्घाखाँची जिल्लाबाट दुई पटक सम्म जननिर्वाचित सभासद् भई सक्नु भएका रायमाझीले आफू सभासद् हुनु भन्दा पहिले रातो कितावमा अर्घाखाँचीको एउटा मात्रै सन्धिखर्क–गोरुसिङ्गे सड्क वाहेक अरु योजना नुहुने गरेकोमा अहिले करिव ५ दर्जन बढि योजनाहरुलाई उल्लेख्य रकम विनियोजन हुनु अर्घाखाँचीको सौभाग्य भएको बताउनु भयो । जिल्लामा विद्यमान सड्क आयोजनाहरुलाई स्तरोन्नती गरी क्रमशः पीच गर्ने तयारीमा आफू रहेको उहाँको भनाई थियो । उहाँले जिल्लामा पर्यटनको बलियो सम्भावना रहेको भन्द,ै लुम्विनी, पोखरा, ढोरपानटन, स्वर्गद्वारी, आउने पर्यटकलाई अर्घाखाँची भित्राउने तयारीमा लागेको बताउनु भयो ।
पछिल्ला वर्षहरुमा जिल्लाबाट बसाई सर्ने क्रम बढेको भन्दै उहाँले अर्घाखाँचीलाई नमुना जिल्लाको रुपमा विकास गरी विद्यमान बसाई सराईको दर रोक्ने र बसाई सराई गरेर वाहिर गएकाहरुलाई पुनःजिल्लामा फर्कने वातावरण सृर्जना गर्ने उहाँको भनाई छ । पहाडी जिल्ला हुँदा हुँदै पनि योजनावद्ध रुपमा काम गर्न सके सानो जिल्ला अर्घाखाँचीमा पनि हजारौ हजार युवाहरुलाई स्वरोजगारी दिन सकिने भन्दै उहाँले २ सय ४५ मेघावाटको नौमुले जलविद्युत आयोजना जनता र सरकारको संयुक्त लगानीमा तत्काल शुरु गर्ने बताउनु भयो । रोजगारीका लागि कृषि, पर्यटन तथा उद्योगलाई प्राथमिकतामा राखेर आफूहरु अगाडी बढेको उहाँको दावी थियो ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका नेता तथा संयुक्त वाम गठबन्धन क्षेत्र नं. २ प्रदेश सभा अर्घाखाँचीका उम्मेदवार रामजी प्रसाद घिमिरेले सामाजिक न्याय, सुशासन र समृद्धिको लागि वामपन्थी गठबन्धनलाई जिताउन आग्रह गर्नु भयो । नेपाली जनता सदैव शान्ति, अग्रगमन र मूलुकको द्रुत विकासको पक्षमा दृढता पूर्वक उभिएको भन्दै उहाँले आसन्न निर्वाचनमा वामगठबन्धनले दुइतिहार्ई स्थानमा विजयी हासिल गर्ने बताउनु भयो ।
अब बन्ने वामगठबन्धन सरकारले राष्ट्रियताको संरक्षण, दिगो विकास, रोजगारीको ग्यारेन्टी र सामाजिक न्यायलाई पहिलो प्राथमिकतामा राखि केही वर्ष भित्रमा मूलुकलाई संसारको विकसित राष्ट्र र जनतालाई संसारका सबैभन्दा सुखि र समृद्ध बनाउने योजना आफूहरु सँग रहेको बताउनु भयो । उहाँले सन्धिखर्कलाई स्मार्ट शहर बनाउने, शान्ति वगैचा, लदाम बगैचा, मथुरा बगैचालाई पार्कको रुपमा विकसित गर्ने, पाणिनि क्याम्पसमा विज्ञान विषय पढाई शुरुवात गरी नमुना क्याम्पस बनाउने, जिल्लामा विशेषज्ञ सहितको सय शैयाको सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने, रोजगारीका अवसरहरु खडा गरी युवाहरुको विदेश पलायन रोक्ने लगायतका योजनाहरु आफूले अँगाडी सारेको घिमिरेको भनाई छ ।
कार्यक्रममा मन्तव्य राख्दै पूर्व सांसद् तथा एमाले नेता डा. दुमन सिंह थापाले आफूले अगाडी सारेका अधुरा विकासका योजना वामगठबन्धनका उम्मेदवारहरुले मात्र पूरा गर्न सक्ने भन्दै जिल्लाको उन्नती र प्रगतिका निम्ति गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गर्नु भयो ।
अर्का वक्ता उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले नेपाली जनता कम्युनिष्टहरुको दुई तिहाई वहुमतको स्थायी सरकार बनेको देख्न आतुर रहेको बताउनु भयो । मूलुकमा कम्युनिष्ट सरकार विना उद्योगी र व्यवसायीको संरक्षण हुन नसक्ने उहाँको भनाई थियो ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सम्मेलन आयोजक कमिटीका सदस्य केवी भुसालको अध्यक्षता , एमाले नेता श्रीकृष्ण भुसालको सञ्चालन र एमाले सन्धिखर्क नगर कमिटीका संयोजक युवराज श्रेष्ठको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य नजिर मियाँ, वोम बहादुर विश्वकर्मा, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक ठाकुर कुमार वि.क. (किशोर), एमाले प्रदेश सभाका सदस्य पिताम्वर भुसाल, केन्द्रीय स्कूल विभागका सदस्य तथा समानुपातिक उम्मेदवार वुद्धि बहादुर रायमाझी, महिला नेतृ पवित्रा पौडेल जिल्ला उपाध्यक्ष जीवनारायण कोईराला, सचिव राम बहादुर चौहान, उप सचिव प्रेम गैरे, समानुपाति उम्मेदवार जालपा भुसाल, माओवादी केन्द्रका सह संयोजक तोज बहादुर रायमाझी (विधान), केन्द्रीय सम्मेलन आयोजक कमिटीका सदस्य राम बहादुर रायमाझी लगायतका नेताहरुको उपस्थिति रेको थियो ।
यसैबीच संयुक्त वाम गठबन्धन क्षेत्र नं. २ ले शनिबार नै सन्धिखर्कको तुमकोट, छापडाँडा, हटारी, लगायतका विभिन्न स्थानमा चुनावी भेटघाट तथा जनसभा सम्पन्न गरेको अनेरास्ववियुका जिल्ला अध्यक्ष प्रदिप नेपालीले बताउनु भयो ।