अर्घातोषको चेकनी, पोखेडाँडा, लेडिकाटे, न्युरे, चिदिपानीमा बाम गठबन्धनको चुनावी सभा सम्पन्न (तस्बिर सहित)

 शोभाखर पन्थी
अर्घातोष, अर्घाखाँची मंसीर १३ ।  बाम गठबन्धनका नेताहरुले नेपाली जनता बाम गठबन्धनको सरकारको पर्खाइमा रहेको बताएका छन् । 
बुधवार छत्रदेब गाउँपालिका वडा नम्बर ८ को बिभिन्न स्थानमा आयोजित चुनाबी सभामा मन्तब्य राख्दै उनीहरुले जनाधिकारको रक्षा र सम्बृद्धिको लागि बाम सरकारको बिकल्प नभएको बताए । नेपाली कांग्रेसले लामो समय शासन गरेपनि जनताको पक्षमा काम गर्न नसकेको उनीहरुको आरोप थियो । 
कार्यक्रममा मन्तब्य राख्दै नेकपा माओबादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य चन्द्र बहादुर खड्का उज्ज्वलले आसन्न निर्वाचनमा राष्ट्रबादी शक्ति र राष्ट्रघाती दलालको बिचमा टक्कर रहेको बताउनुभयो । निर्वाचनमा राष्ट्रबादीशक्तिको रुपमा बामपन्थी गठबन्धन र राष्ट्रघाति दलालको रुपमा नेपाली कांग्रेस खडा भएको उहाँको आरोप छ । 
संयुक्त बाम गठबन्धन प्रचार प्रसार समिति अर्घाखाँचीका संयोजक समेत रहेका खड्काले कांग्रेसलाई चुनाव जिताएर पठाउनु भनेको राष्ट्रियतालाई धरापमा पार्नु हो भन्दै अगाडि भन्नुभयो, स्वाभिमानी नेपाली जनता सधैभरी राष्ट्रियताको पक्षमा दृढता पूर्व उभिदै आएका छन् । यस पटकको निर्वाचनमा पनि बाम गठबन्धनलाई बिजयी गराउनेछन् । 
२०१९ साल देखि टुटफुट बाट गुज्रिएको कम्युनिष्ट आन्दोलन पहिलो पटक एकताबद्ध भएको भन्दै बाम पन्थी एकता मुलुकको अपरिहार्य आवश्यकता रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमाले जिल्ला कमिटिका अध्यक्ष तथा संयुक्त बाम गठबन्धनका प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेद्वार चेतनारायण आचार्यले बाम पन्थीहरु बीच भएको एकताले श्रमजिबी जनता उत्साहि भएको बताउनुभयो । 
उहाँले अधिकार स्थापना र जिल्लाको समग्र विकासको लागि बाम गठबन्धनलाई भारीमतले विजयी गराउन आग्रह गर्नु भयो । आचार्यले गाउँ गाउँमा विकासका पूर्वाधार पु-याई जनतालाई आत्मनिर्भर बनाउने योजनाका साथ आफूहरु जनता बीच आएको बताउनु भयो । 
अर्का बक्ता नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिवालय सदस्य तथा समानुपातीक उम्मेदवार शुशीला श्रीपालीले सामाजिक रुपान्तरण, स्वरोजगारिको ग्यारेन्टी र समृद्ध राष्ट्र निर्माणको लागि वाम गठबन्धनलाई जिताउनु पर्ने बताउनु भयो । मूलुकका ठूला दुई वामपन्थी दलबीचको एकता केवल निर्वाचन जित्नको लागि मात्र नभई स्थायी सरकार, दिगो शान्ति र अग्रगमनको लागि भएको उहाँको भनाई छ । 
कार्यक्रममा नेकपा एमालेका नेता मुक्ती पाण्डे, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य भविश्वर पाण्डे, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष ऋषिराम अधिकारी, भोजराज पाण्डे, विष्णु फुल्लेल लगायतका वक्ताहरुले मन्तव्य राख्दै बाम गठबन्धनको विजय सँगै जिल्लामा विकास निर्माण र सामाजिक रुपमान्तरणको कामले सार्थकता पाउने बताउनु भयो । 
वाम गठबन्धनले बुधवार छत्रदेव ८ अर्घातोषको चेकनी, पोखेडाँडा, लेडिकाटे, न्युरे, चिदिपानी लगायतका ठाउँमा चुनावी सभा सम्पन्न गरेको थियो । 
चुनावी सभाको लागि गाउँमा पुगेका उम्मेदवार तथा वाम गठबन्धनका नेताहरुलाई जनताले फूलमाला र अविरले भव्य स्वागत गरेका थिए ।

अन्य समाचारहरु