छत्रदेब गाउँपालिका ३ र ५ वार्डका बिभिन्न स्थानमा बाम गठबन्धनको चुनाबी सभा सम्पन्न, बामगठन्धनले दुई तिहाई बढी स्थानमा जित्ने बाम नेताहरुको दावी (तस्बिर सहित)

शोभाखर पन्थी
 छत्रदेब, अर्घाखाँची मंसीर १६ । बाम गठबन्धनका नेताहरुले आसन्न निर्वाचनमा बामगठन्धनले दुई तिहाई भन्दा बढी स्थानमा बिजय हासील गर्ने बताएका छन् ।
 नेपाली जनता बिकास र सम्बृद्धिको लागि बामगठबन्धन  सरकारको पर्खाइमा रहेको  बताउँदै, बक्ताहरुले शान्ति,दिगोबिकास र राष्ट्रियताको रक्षाको लागि बाम गठबन्धनका उम्मेदवारहरु लाई बिजयी गराउन जनता आतुर रहेको बताए । 
शुक्रबार छत्रदेब गाउँपालिका वडा नम्बर ३ र ५  को बिभिन्न स्थानमा आयोजित चुनाबी सभामा मन्तव्य राख्दै उनीहरुले राष्ट्रियता,शुसाशन र सम्बृद्धिको लागि बाम सरकारको बिकल्प नभएको बताए । नेपाली कांग्रेसले लामोसमय शासन गरेपनि जनताको पक्षमा काम गर्न नसकेको उनीहरुको आरोप थियो ।
 कार्यक्रममा मन्तब्य राख्दै नेकपा माओबादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य चन्द्र बहादुर खड्का उज्ज्वलले आसन्न निर्वाचनमा राष्ट्रयताका पक्षधर गणतन्त्रबादी शक्ति र पुनरउत्थानवादी राष्ट्रघाती दलालको बिचमा टक्कर रहेको बताउनुभयो । निर्वाचनमा राष्ट्रबादीशक्तिको रुपमा बामपन्थी गठबन्धन र राष्ट्रघाति दलालको रुपमा नेपाली कांग्रेस खडा भएको भन्दै, उहाँले कांग्रेसलाई चुनाव जिताएर पठाउनु भनेको राष्ट्रियता र गणतन्त्र लाई धरापमा पार्नु भएको बताउनु भयो । नेता खड्काले भन्नुभयो स्वाभिमानी नेपाली जनता सधैभरी अग्रगमन, गणतन्त्र र राष्ट्रियताको पक्षमा दृढता पूर्व उभिदै आएका छन् र यस पटकको निर्वाचनमा पनि बाम गठबन्धनलाई भारीमतका साथ बिजयी गराउनेछन् । 
 कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमाले जिल्ला कमिटिका अध्यक्ष तथा संयुक्त बाम गठबन्धनका प्रदेश सभा क्षेत्र नम्बर १ का साझा उम्मेद्वार चेतनारायण आचार्यले बाम पन्थीहरु बीच भएको एकता सम्बृद्ध राष्ट्र निर्माणको लागि बलियो औजार भएको बताउनु भयो । बाम गठबन्धनको पक्षमा बढेको जनलहर लाई नेपाली कांग्रेसका नेताहरुले  पचाउन नसकी बाम गठबन्धनका बिरुद्ध सत्तोसराप गरेको भन्दै उहाँले आफूहरु जनताको मायाले निक्कै उत्साहि भएको बताउनुभयो । 
अर्घाखाँची जिल्लालाई देशकै नमूना जिल्लाको रुपमा बिकास गर्ने योजनाका साथ आफु चुनावमा होमीएको उहाँको भनाई थियो । जिल्लाको समग्र विकासको लागि बाम गठबन्धनलाई भारीमतले विजयी गराई समृद्ध अर्घाखाँचीको अभियानमा सरीक हुन उहाँले जिल्लाबासी लाई आग्रह गर्नु भयो । आचार्यले गाउँ गाउँमा विकासका पूर्वाधार पु-याई जनतालाई आत्मनिर्भर बनाउने स्वरोजगारीका अवसरहरु सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो  । 
अर्का बक्ता नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिवालय सदस्य तथा समानुपातीक उम्मेदवार शुशीला श्रीपालीले सामाजिक रुपान्तरण, स्वरोजगारिको ग्यारेन्टी र समृद्ध राष्ट्र निर्माणको लागि वाम गठबन्धनलाई जिताउनु पर्ने बताउनु भयो । मूलुकका ठूला दुई वामपन्थी दलहरुबीचको एकता केवल निर्वाचन जित्नको लागि मात्र नभई स्थायी सरकार, दिगो शान्ति , अग्रगमन र मूलुकको समृद्धिको लागि भएको उहाँको भनाई छ । 
कार्यक्रममा नेकपा एमालेका नेता भोज बहादुर शाह,मुक्ती पाण्डे, लक्ष्मण रायमाझी,नेकपा एमालेका जिल्ला सचिवालय सदस्य भविश्वर पाण्डे, निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष ऋषिराम अधिकारी, एमाले जिल्ला सदस्य शंभुपोखे्रल, नेकपा माओबादी केन्द्रका नेता रामलाल पराजुली,प्रकाश ज्ञवाली,भोजराज पाण्डे,युवासंघका अध्यक्ष गोबिन्द आचार्य,अनेरास्वबियूका केन्द्रिय सदस्य भरत न्यौपाने,जिल्ला अध्यक्ष प्रदिप नेपाली लगायतका वक्ताहरुले मन्तव्य राख्दै बाम गठबन्धनको विजय सँगै जिल्लामा विकास निर्माण र सामाजिक रुपमान्तरणको कामले सार्थकता पाउने बताउनु भयो । 
चुनावी सभाको लागि गाउँमा पुगेका उम्मेदवार तथा वाम गठबन्धनका नेताहरुलाई जनताले फूलमाला र अविरले भव्य स्वागत गरेका थिए । 

अन्य समाचारहरु