अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । यही मंसिर २१ गते हुन गईरहेको प्रदेश सभा र प्रतिनिधी सभाको दोश्रो चरणको निर्वाचनका लागि अर्घाखाँची जिल्लामा मतदातालाई पैसा बाँड्ने प्रतिस्पर्धा शुरु भएको छ ।
जिल्लाका नेकपा एमाले र माओवादी केन्द्र बाम गठबन्धन र कांग्रेस उम्मेदवारलाई चुनाव जित्नै पर्ने चुनौति भएकाले पनि अन्तिम अस्त्रका रुपमा पैसाको प्रयोग गर्न लागेका हुन् ।
अर्घाखाँचीमा कांग्रेस र बाम गठबन्धन बीच प्रतिस्पर्दा हुँदैछ । प्रतिनिधि सभामा बामगठबन्धनबाट टोप बहादुर रायमाझी (माओबादी केन्द्र) र कांग्रेसबाट डा. राम बहादुर बि।सी, र प्रदेश सभा क्षेत्र नम्बर १ मा कांग्रेसबाट बिष्णु प्रसाद खनाल, बाम गठबन्धनबाट चेतनारायण आचार्य ( नेकपा एमाले ) र प्रदेश सभा क्षेत्र नम्बर-२ मा कांग्रेसबाट हिम्मत बहादुर टण्डन, बाम गठबन्धनबाट रामजी प्रसाद घिमिरे ( नेकपा एमाले ) बीच प्रतिस्पर्दा हुँदैछ ।
अर्घाखाँचीडट्कमलाई जिल्लाभरका साविक गाबिसका वार्ड, गाउँबाट प्राप्त सुचना जानकारी र गाउँ-गाउँमा पुगेर मतदाताले बताए अनुसार जिल्लाका ३ नगरपालिका सन्धिखर्क, भूमिकास्थान, शितगंगा र ३ गाउँपालिका मालारानी, छत्रदेब, पाणिनीका बिभिन्न गाउँमा नेकपा एमाले र माओवादी केन्द्र बाम गठबन्धन र नेपाली कांग्रेसले मतदातालाई रिझाउन पैसा बोकेर रातारात घरघरमा पुगेका छन् ।
स्रोतका अनुसार बाम गठबन्धन र नेपाली कांग्रेसले स्थानिय तहका नेतालाई पैसा बाँड्न जिम्मा दिएका छन् । यस्तै अर्घाखाँचीमा कांग्रेसले भन्दा एमाले, माओवादी केन्द्र बाम गठबन्धनले भड्किलो चुनाव खर्च गरेका छन् ।
बाम गठबन्धनले सजिलै चुनाव जित्न मतदातालाई भोजभतेरका साथै पैसा बाँड्न ८० लाख देखि १ करोड सम्म खर्च हुने अनुमान गरिएको एमालेका सन्धिखर्क नगर स्तरिय एक नेताले नाम नबताउने सर्तमा बताए । ति नेताका अनुसार एक भोट्को लागि ५००, १००० रुपैयाँ सम्म बाँडेका छन् । साथै उनिहरुले एक परिवारको भोट्लाई ३ देखि ५ हजार रुपैयाँसम्म दिदै आएका छन् । यस्तै कपडा, टिन, अन्न समेत बाँडने र गाउँ टोलमा नयाँ बाटो खनाउने समेत गरेका छन् ।
बाम गठबन्धनले भने साविक गाबिस असुरकोट, अडगुरी, अर्घातोस, केरुङ्गा, खन, खनदह, खिदिम, खिल्जी, गोखुङ्गा, चिदीका, छत्रगञ्ज, जलुके, जुकेना, ठाडा, ठुलापोखरा, ढाकावाङ्, ढिकुरा, धनचौर, धातिवाङ, धारापानी, नुवाकोट, पटौटी, पणेना, पाली, पोखराथोक, बल्कोट, बाँगी, भगवती, मरेङ, मैदान, सिद्वारा, सिमलपानी, सीतापुर, सुवर्णखाल, हंशपूर र सन्धिखर्कका दलित, अशिक्षित ठाउँलाई तोकेर नै स्थानिय तहका नेतालाई भोजभतेर खर्चका साथै पैसा बाँडने जिम्मा दिएका छन् ।
बाम गठबन्धनको जिल्ला तहबाट पैसा पाईसकेका स्थानिय तहका नेतालाई भोजभतेर र पैसा बाँडको विवरण जिल्लाको संयुक्त आर्थिक समितीलाई बुझाउनु पर्ने हुन्छ । बामगठबन्धनका पैसा बाँडन जिम्मा दिएका स्थानिय तहका नेताले वार्ड-वार्डबाट दलित, अशिक्षित मतदाताको विवरण संकलन गरिरहेका छन् ।
यस्तै प्रतिनिधि सभा उम्मेद्द्वार टोप बहादुर रायमाझीले आफ्नो संगठन भित्र चुनाव जित्न सबै उपाय अपनाउन र पैसाको लागि जती लाग्छ खर्च गर्न निर्देशन दिएको माओवादी केन्द्रका स्थानिय जिल्लाका एक नेताले कुरा बाहिर नभन्ने सर्तमा गत कार्तिक महिनाको अन्तिम तिर सन्धिखर्कमा बताएका थिए । यस्तै बामपन्थी समर्थक व्यवसायीले पनि चुनाव जितेपछि ठेक्का पट्टा मिल्ने प्रलोभनमा ठुलो आर्थिक रकम सहयोग गरेका छन् ।
साथै नेपाली कांग्रेसले मतदातालाई रिझाउन पैसा बाँडनको लागि विकट साबिक गाबिसहरुमा प्राथमिकता दिएको छ । कांग्रेसले १५ हजार देखि २० हजार भोट् तान्न भोजभतेर, पैसा बाँड्ने लगायतका सबै प्रकृया शुरु गरेको कांग्रेसका जिल्ला स्तरिय नेताले नै नाम नबताउने सर्तमा बताए ।
कांग्रेसले पनि दलित, अशिक्षित मतदातालाई प्राथमिकता दिएको छ । यस्तै कांग्रेसका पनि पैसा बाँडन जिम्मा दिएका स्थानिय तहका नेताले वार्ड वार्डबाट दलित, अशिक्षित मतदाताको विवरण संकलन गरिरहेका छन् । कांग्रेसले जिल्लाका साविक गाबिस सन्धिखर्क सहित वाङ्ला, बल्कोट, सिमलपानी, ठाडा, सिद्दारा, जुकेना, जलुके, धन्चौर, नुवाकोटमा पैसा तथा कपडा अन्न वितरण गरेका छन् । यि साविक गाविसका विभिन्न गाउँ- टोलका दलित, अशिक्षित मतदाताले पैसा, कपडा अन्न भोट् दिने सर्तमा पाईसकेको बताएका छन् । कोङ्रेसले ति ठाउँहरुमा २००, ३००, ५०० का दरले दिएको भेटघाटका क्रममा स्थानियबासीले बताए ।
उता गएको ५ दिन भित्रमा सदरमुकाम सन्धिखर्कका कुरका कुमाल, नेपाली, सुजी समुदाय, अर्घाका गन्धर्व, कुमाल, खाचिकोट कुमाल, नेपाली, सुजी समुदाय, ढिकुरा, नुवाकोट दलित, अशिक्षित मतदातालाई बाम गठबन्धनले पैसा बाँडिसकेका छन् । अर्घाका केही गन्धर्व परिवारलाई माओवादीले ५००, ५०० रुपैयाका दरले बाँडेको उनिहरुले बताए । सन्धिखर्कका अस्पताल माथिका कुमाल समुदायले पनि एमालेले एक परिवार बराबर हजार दिएको बताए ।
उनिहरुलाई पैसाका साथै स्वस्तीक छाप लगाएको नमुना मतपत्र पनि दिएको छ ।
यस्तै समग्र प्राप्त जानकारी अनुसार जिल्लाभरका गाउँ-गाउँमा साँझ पख बाम गठबन्धन र कांग्रेसको नेता कार्यकर्ता मतदाता किनबेचमा लागेको देखिएको छ । साथै कयौ मतदाताले त दुबै तर्फ पैसा लिएर बसेको बताएका छन् । उनिहरुले परिवारका सदस्यले बाडिएर पैसा लिएका दललाई भोट् दिने बताएका छन् ।
उता एमाले र माओवादी केन्द्र बिच आर्थिक खर्चलाई लिएर निरन्तर विवाद हुँदै आएको छ । जिल्लाका कैयौ ठाउँमा एमालेका कार्यकर्ता बढी परिचालन भएकोले उसको तर्फबाट बढी आर्थिक चुनाव खर्च भएको देखिन्छ ।
साथै व्यापारीका अनुसार एमाले र माओवादी केन्द्र गठबन्धनले चुनाव प्रचारमा खाएको, बसेको र गाडी इन्धन खर्च धेरै ठाउँमा अहिले सम्म तिरेका छैनन् ।
अर्घाखाँचीमा अहिले सम्म राजनीतिक दलले गाउँ-गाउँमा औपचारिकका लागि मात्र चुनावी प्रचार-प्रसार कार्यक्रम, भेला गरेता पनि भोट् पैसा नकिने सम्म जित्ने कुरामा ढुक्क भएको देखिदैन ।
स्मरण रहोस् गत सम्पन्न स्थानिय निर्वाचनमा पनि अर्घाखाँचीमा कांग्रेस-माओबादी केन्द्र गठबन्धन र एमालेले चुनाव जित्न दलित, अशिक्षित मतदातालाई पैसा बाँडका थिए । अर्घाखाँची जिल्लामा उम्मेदवारले चुनाव जित्ने अस्त्रका रुपमा पैसाको प्रयोग गर्ने चलनले अहिले पनि निरन्तर पाएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि चुनावी २५ लाख रुपैयाँ तोकिएको छ । प्रदेशसभा सदस्यका उम्मेदवारले भने १५ लाख रुपैयाँसम्म खर्च गर्न पाउँछन् । आयोगले यो सीमा मतदाता नामावली खरिद, सवारीसाधन, प्रचार सामग्री, ढुवानी, गोष्ठी, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालनका लागि निर्धारण गरेको हो । तर आयोगले तोकेको सीमाभित्र रहेर खर्च गर्ने प्रत्यक्षतर्फका उम्मेदवार पाउन मुस्किल छ ।