बाघको अाक्रमणबाट सन्धिखर्कको कुर पल्लाबारीमा गम्भीर घाइते भएकी बालिकाको निधन


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ को कुर पल्लाबारीमा बाघको अाक्रमणबाट गम्भीर घाइते भएकी बालिकाको निधन भएको छ । 
कुर पल्लाबारी निवासी मधु दमासेकी ४ वर्षिया छोरी परि दमासेको मंसिर १४ गते राती भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक बालिका परिको अन्तिम दाहसंस्कार कपिलवस्तुको इम्लियामा गरिएको छ । यस्तै उनको काजक्रिया पनि इम्लिया आफ्ना जन्म घर नुवाकोट सुरसिङ पट्टिका हजुरबुबा-आमाको घरमा गरिने छ । 
बालिका परि ६ महिनाकी हुँदा बाबू बेपत्ता भएको र उक्त समय देखि नै आफ्नो मावली घर कुरमा आमा मधु दमासेसँग बसेर पढाइ गर्दै आएकी थिईन् । 
बालिका परिलाई गत म‌सिर ९ गते शनिवार साँझ नपर्दै बाघको अाक्रमण गरेको थियो ।  परि गत वर्ष २०७३ श्रावण ५ गते  बुधवार   पनि बाघको आक्रमणमा परेकी थिईन् । साँझ ६ नबझ्दै हजुर आमाले मेलाबाट काखमा बोकेर ल्याउदै गरेको अवस्थामा बाघले एक्कासी आक्रमण गरेको थियो ।
गम्भिर घाईते बालिकाको जिल्ला अस्पताल अस्पतालमा उपचार हुन नसकेपछि भैरहवा रिफर गरिएको थियो । बाघको आक्रमणबाट घाँटीमा गहिरो चोट  लागेको र अत्यधिक रगत बगेकोले बालिकाको अवस्था  गम्भीर भएको जिल्ला अस्पतालले बताएको थियो ।
जिल्लामा गएको २,३ वर्ष भित्र लगभग एक दर्जन बढी बालबच्चाको बाघको आक्रमणबाट ज्यान गएको छ । अर्घाखाँचीको ईतिहासमा यसरी बाघले मानविय क्षती पुराएको पहिलो पटक हो । बाघ आतंक बढ्दै गएपछि खाचिकोट, ढिकुरा, नुवाकोट, सन्धिखर्क, किमडाँडा लगायतका स्थानिय बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा २,३ वर्ष देखि बारम्बार  जिउधनको रक्षाको लागि आग्रह गरिरहेका छन् । गत असोज महिनामा अर्घाखाँचीमा बाघ मार्न-नियन्त्रण गर्न चितवनबाट विषेश टाेली आएपनि केही उपलब्धी भएको थिएन ।
अर्घाखाँची नेपालको अन्य भेगमा भन्दा बढी बाघले आतङ्क मच्चाएको जिल्ला हो । विधालय आउँदा जाँदा होस् कि साँझ विहान घरको आगनमा खेल्दा होस् यहाँ बच्चाहरुको सुरक्षा छैन ।  
उता सन्धिखर्क, खाचिकोट, ढिकुरा लगायतका स्थानियबासीले अर्घाखाँचीमा निरन्तर बाघको आक्रमणबाट ठुलो मानविय क्षती भएपछि जिल्लालाई संकटग्रस्त क्षेत्रको घोषणा गर्न माग गरेका छन् । सरकारले बाघलाई पक्रन वा मार्नको निम्ती पहल नगरे गाउँ छाड्न बाध्य हुने उनिहरुको भनाई छ ।     

परि दमासे सम्बन्धित समाचार:-

अन्य समाचारहरु