घनश्याम पौडेल/हिन्दुखबर
सन्धिखर्क, १८ मंसिर । आउदो मंसिर २१ गते बिहिबार हुने दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि सोमबारदेखि अर्घाखाँचीमा कर्मचारी खटिएका छन् ।
एउटा प्रतिनिधी सभा र दुईवटा प्रदेश सभा रहेको अर्घाखाँचीको सवै मतदान केन्द्रमा निर्वाचनका लागि आवश्यक सामाग्रीसहित कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
जिल्लामा रहेका ९३ मतदान स्थल र १७४ मतदान केन्द्रका लागी मतदान अधिकृत सहायक मतदान अधिकृतसहित झण्डै १३ सय ९२ जना निर्वाचनका लागि आवश्यक सामाग्री सहित मतदान केन्द्रमा गएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ शर्माले जानकारी दिए ।
‘ १७४ जना मतदान अधिकृत, सोही संख्यामा सहायक मतदान अधिकृत र अन्य कर्मचारीहरु गरी १३ सय ९२ जना कर्मचारीहरु निर्वाचनका लागि खटिइसकेका छन’, उनले भने, ‘१ वटा निर्वाचन क्षेत्रका मतदान केन्द्रमा खटिने कर्मचारीहरुले निर्वाचनका लागि आवश्यक पर्ने मतपेटिका, मतपत्र, स्वस्तिक चिन्ह लगायतका ६७ थरी सामाग्री लिएर सदरमुकाम सन्धिखर्कबाट मतदान केन्द्रतर्फ लागि सकेका छन् ।’
जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका अनुसार मतदानको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ, १९ र २० गते परिचय पत्र वितरण र २१ गते विहान ७ बजेदेखी बेलुका ५ बजेसम्म मतदानका लागी तयारी अन्तिम चरणमा पुगेको छ ।
अर्घाखाँचीमा मतदान केन्द्र हेरी सुरक्षा व्यवस्था कडाँ बनाईएको छ । ढुक्कका साथ सवै मतदाताले स्वतन्त्रता पुर्वक मतदान गर्नका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले आग्रह गर्दै कोही पनि मतदान गर्नबाट बञ्चीत हुनुपर्दैन, जिल्लाका घण्टौ हिडेर मतदान गर्न जाने केन्द्रमा पनी सुरक्षा कडाँ बनाएका छौ, भुसालले भने । जिल्लामा १ लाख ३८ हजार ३ सय २८ जना मतदाता रहेका छन ।