अर्घाखाँचीमा आज मध्य-रातिबाट सवारी साधन सञ्चालनमा रोक


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । भोली बिहीवार हुने दोश्रो चरणको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि अर्घाखाँची जिल्लामा  आज मध्य-रातिबाट सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ । 
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका अनुसार भोली बिहान ७ बजे मतदान सुरु हुने भएपनि आज मध्य-रातिदेखि स्थानीय प्रशासनले सवारी साधन सञ्चालनमा रोक लगाउनेछन् । 
आज मध्य -रातीदेखि निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाउने भएपनि आयोगबाट पास लिएका र अत्यावश्यक सेवाका साधन भने चल्न दिइने प्रशासनले बताएको छ । 
भोली साँझ मतदानपछि पनि मतपेटिका सुरक्षित रूपमा केन्द्रमा पुर्‍याउने सहितका काम बाँकी रहने हुँदा भोली साँझ ७ बजेसम्म सवारी साधन सञ्चालन गर्न नपाइने जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । 
यस्तै जिल्लाभर  बिहिबार बिहान ७ बजे देखि अपरान्ह ५ बजे सम्म मतदान हुँदैछ ।              
जिल्लाका ९३ मतदानस्थलका एक सय ७४ मतदान केन्द्रमा १३ सय ९९ कर्मचारी खटिएका छन् । 
एउटा मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, चार सहायक कर्मचारी र दुईजना सहयोगीसहित आठ जनाको कर्मचारी हुन्छ । मतदान केन्द्र सुरक्षाको लागि तीन घेरामा सुरक्षाकर्मी तैनाथ छन् । 

अन्य समाचारहरु