जिल्लाभरका मतदान केन्द्रका मतपेटिका सन्धिखर्कमा आउने क्रम जारी, वाङ्ला मथुराको मतदान सम्पन्न भएपछि मात्रै जिल्लाको मतगणना सुरु हुने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा  प्रतिनिधिसभा र प्रदेशसभाका लागि भएको निर्वाचनमा एक मतदान केन्द्र बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।  
जिल्लाका ९३ मतदान स्थलमा १ सय ७४ मतदान केन्द्रका मतपेटीका मध्यरातसम्म सन्धिखर्कमा ल्याईसक्ने जिल्ला निर्वाचन अधिकारी केदारनाथ शर्माले बताएका छन् । 
यस्तै जिल्लाका विकट मानिएका शितगंगा नगरपालिकाका सिद्धारा, सिमलपानी, जलुके लगाएतका मतपेटीका सन्धिखर्क मध्यरात सम्म आईपुग्ने र नजिकमा रहेका मतदान केन्द्रका मतपेटिका सन्धिखर्कमा आउने क्रम जारी छ । 
यस्तै सन्धिखर्क नगरपालिका वडा नम्बर ५ वाङ्ला मथुरा निम्न माध्यमिक विद्यालय नेटा मतदान स्थलका (क) र (ख) गरी दुईवटा मतदान केन्द्रको मतदान कार्य आज स्थगित भएको छ । मतदान केन्द्र (ख) का मतदान अधिकृतले मतपत्रमा सही नगरेको भनी राजनीतिक दलका कार्यकर्ताबाट एउटा मतपेटिका तोडफोड गरी फालेको र बाँकी मतपत्र च्यातेकाले उक्त मतदान केन्द्रको मतदान कार्य स्थगित भएको हो ।  
स्थगित भएको मथुराको मतदान सम्पन्न भएपछि मात्रै जिल्लाको मतगणना सुरु हुने जिल्ला निर्वाचन अधिकारी केदारनाथ शर्माले बताए । 
आज अर्घाखाँचीका ९३ मतदान केन्द्र मध्ये ९२ केन्द्रमा सम्पन्न निर्वाचनमा ६४.४५ प्रतिशत अर्थात ८७,८३४ मत खसेको छ । जसमा ४९,२२१ जना महिला र ३८,६१३ जना पुरुष रहेका छन् । ९२ केन्द्रमा १३६, २८४ मतदाता रहेका छन् ।     
अर्घाखाँची जिल्लामा जिल्लामा कुल १३८,३२८ मतदाता संख्या रहेको छ । भने सन्धिखर्क नगरपालिका ५ वाङला  स्थित मथुरा  मावि केन्द्रमा २०४४ मतदाता रहेका छन् ।  अर्घाखाँचीमा स्थानिय तहमा ७० प्रतिशत मत खसेको थियो । 
निर्वाचनमा महिला मतदताको संख्या धेरै रहेको थियो। कुल मतदता मध्ये ७१ हजार ३ सय ५० महिला र ६६ हजार ९ सय ७८ पुरुष मतदाता रहेका थिए । निर्वाचन क्षेत्र नं. १ मा ६५ हजार २ सय ६ र   निर्वाचन क्षेत्र नं. २ मा  ७३ हजार १ सय २२ मतदाता थिए।   निर्वाचनमा  सुरक्षाकर्मी बाहेक  १ हजार ३ सय ९२  कर्मचारी परिचालन गरिएको थियो।   

अन्य समाचारहरु