साहित्यकार प्रेमा शाह र संगीतकार चन्द्रराज शर्माको बिहीबार निधन भएको छ ।
शाहको उपचारका क्रममा अमेरिकाको ‘साल्ट लेक सिटीस्थित इन्टर माउन्टेन’ अस्पतालमा ७२ वर्षका उमेरमा बिहीबार निधन भएको साहित्यकार तथा चलचित्रकर्मी प्रकाश सायमीले जानकारी दिए ।
श्रीमती शाह केही समयदेखि अस्वस्थ थिइन् । शाहको ‘पहेंलो गुलाफ’, ‘विषयान्तर’ ‘आऊ मलाई सम्भोग गर’, ‘मन्टु बजैको कथाको पेटारो’, ‘मम्मी’ र संयुक्त लेखनमा ‘आकाश विभाजित छ’लगायत कृति प्रकाशित छन् ।
उनी विशेषगरी यौन साहित्यमा कलम चलाउँथिन् । उनी छोरी चलचित्र नायिका जल शाहसँग एक दशकदेखि अमेरिकामा बस्दै आएकी थिइन् ।
यसैगरी, संगीतकार शर्माको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको कलाकार सायमीले बताए । ८९ वर्षीय शर्माको हृदयाघातका कारण उपचारका क्रममा निधन भएको हो । आफ्नो घर स्थानीय वसुन्धरामा बिहान अस्वस्थ भएपछि उपचारका लागि उहाँलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।
शर्माले पहिलो नेपाली रंगीन चलचित्र ‘कुमारी’ तथा ‘मुनामदन’, ‘शकुन्तला’, ‘सावित्री सत्यवान्’, ‘कुन्जिनी’लगायत गीति नाटकमा संगीत दिएका थिए ।
शर्माको बिहीबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । शर्मालाई छोरा गायक सुदेशले दागबत्ती दिएका थिए ।
शर्माका पिता यज्ञराज पनि संगीतकार नै थिए । रासस