प्रेमनारायण आचार्य
धनचौर, अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा एक वर्षअघि बलात्कृत भएकी दलित किशोरीको झुण्डिएको अबस्थामा शब फेला परेको छ। भुमिका स्थान नगरपालिका वडा नम्बर ९ धनचौरकी १७ वर्षीया समिता नेपाली चरेपानी जंगलको बीचमा रहेको कालिका मन्दिरको ढोकामा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
२०७३ साल माघ ७ गते सन्धीखर्कमा भएको अर्घाखाँची महोत्सव हेरेर फर्कदै गर्दा नसालु पदार्थ सेवन गराइ उनलाई भुमिका स्थान नगरपालिका ४, धारापानीका २५ वर्षीय राजु अधिकारीले बलात्कार गरेका थिए। बलात्कारको तेश्रो दिन गत वर्षको माघ ९ गते जिल्ला अदालत अर्घाखाँचीमा मुद्धा दर्ता भएको थियो। त्यस लगत्तै फरार आरोपी अधिकारी हालसम्म वेपत्ता छन्।
बलात्कार पछि उनलाई गाउँमा असुरक्षा ठान्दै परिवारले पढ्नका लागि ललितपुरमा रहेकी मामाकी छोरीको घरमा पठाएका थिए।घटनाको प्रकृति हेर्दा झुण्डिएर नभइ कसैले हत्या गरेर झुण्डाएको आशंका उनका आफन्तले गरेका छन्। समितालाई झुण्डाई हत्या गरेको भनि पीडित पक्षले प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदिप डिसीले जानकारी दिए।घटनाको बारेमा अनुसन्धान भइरहेको उनले बताए।
मृतक किशोरीका बाबु विष्ण्ुा नेपालीले भने, छोरी बिहीबार काठमाडांैबाट घर फर्कदै थिइन्। शनिबार एक्कासी चरेपानीको मन्दिरमा झुण्डिएको भनि खबर आयो। घटनाको प्रकृति हेर्दा उनी आफै झुण्डिएको नभइ कसैले झुण्डाएकाले उचित छानबिन र अनुसन्धानका लागि प्रहरीमा उजुरी गरेको बताए’।
एक किशोरी मन्दिरमा झुण्डिएको अवस्थामा भेटिएको भनि स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको डिएसपी एकनारायण कोइरालाले जानकारी दिए। उनले भने पीडित पक्षले मृतक आफै झुण्डिएको नभइ कसैले झुण्डाइ हत्या गरेको भनि प्रहरमा उजुरी परेको छ। उनले भने, घटनाको अनुसन्धान भइरहेको छ।