अर्घाखाँचीडट्कम संवाददाता
हडाहा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सिँचाई कुलो मोटरबाटोले पुरेपछि दुई हजार रोपनी खेत बाँझै रहेको छ । खेतीयोग्य जमिन अहिले चौर बनेको छ ।
छ वर्ष अघिसम्म पालीका बलराम खत्रीले हडाहाको दस रोपनी खेतमा ५० मुरी धान फलाउँथे । हिउँदमा गहुँ र आलु उत्पादन हुन्थ्यो । तर, अहिले खेत छ वर्षयता बाँझै छ । सिँचाई कुलो पुरिएपछि खेत बाँझै रहेको हो ।
सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक निर्माण गर्दा सिँचाई कुलो पुरिएपछि उनी सहित डेढ सय कृषकको करीब दुई हजार रोपनी खेत बाँझै छ । खरिपाटा, हल्दे, बिसेफाँट, तीनथुप्रे, हडाहा लगायतका खेतीयोग्य जमिन बाँझिएपछि कृषक मारमा परेका छन् । बाँगी खोला किनाराबाट सडक निर्माण गरिएको छ ।
पुरिएको कुलो निर्माण गरिदिन ढोरपाटन सडक डिभिजन कार्यालयलाई बारम्वार अनुरोध गरेपनि सुनुवाई नभएको उनीहरुको गुनासो छ ।
ढोरपाटन सडक डिभिजन प्रमुख होमबहादुर एसीले स्थानीइलाई पानी ल्याउन आठ सय मिटर पाइप दिएपनि बिच्छयाउने काम नगरेको उल्लेख गर्नुभयो ।