सन्धिखर्कमा पत्रकार भेटघाट, कसैले चाहदैमा पार्टी एकता नरोकिंने डिलाराम आचार्यको भनाई

शोभाखर पन्थी 
सन्धिखर्क, अर्घाखाँची  । नेकपा माओवादी केन्द्रका नेता डिलाराम आचार्यले नेकपा एमाले र माओवादी केन्द्र बीचको पार्टी एकता कसैले रोकेर रोक्न नसक्ने बताएका छन् । 
सदरमुकाम सन्धिखर्कमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले मुलुकको आवश्यकता र जनताको चाहना अनुसार दुबै दल चुनावी तालमेल गर्दै  पार्टी एकताको निम्ति अन्तिम चरणमा पुगेको बताए  । पार्टी एकताको निम्ति जिम्मेवारी वाँडफाँडमा कुनै समस्या नभएको भन्दै उनले सरकारको नेतृत्व एमाले अध्यक्ष केपि शर्मा ओलीले गर्ने र पार्टीको कार्यकारी भूमिकामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रहने विषयमा सहमति नजिक पुगेको बताए । विश्व भर कम्युनिष्टहरु छिन्न भिन्न र टुट फुटको अवस्थामा गुज्रिएको बेला नेपालमा ठूला दुई दल कम्युनिष्ट पार्टी बीच एकता हुनु खुसीको कुरा भएको भन्दै उनले पार्टी एकता  समाजिक रुपान्तरण , वर्ग विभेदको अन्त्य र राष्ट्रको समृद्धिको निम्ति  हुनु पर्नेमा जोड दिए ।
 चुनाव सकिएको लामो समय हुँदा पनि  जनताबाट अनुमोदित भएर आएका प्रतिनिधिहरुले सरकार बनाउन नपाउनु दुर्भाग्य पूर्ण कुरा भएको उनको भनाइ थियो । लोकतन्त्रमा  निर्वाचनको निकै महत्वपूर्ण भूमिका हुने र निर्वाचित जनप्रतिनिधिहरुले शासन सत्ता सञ्चालन गर्ने विश्वव्यापी मान्यता बिपरित कांग्रेसले संविधानमा छुटेका कुराहरु लाई आधार बनाई सत्तामा टाँसिएर बस्नु सकारात्मक नभएको उनको भनाइ छ । 
 कामचलाउ भइसकेको सरकारले राजनीतिक नियुक्ति गर्ने, वजेट वाड्ेने तथा आफन्त र नातागोतालाई आर्थिक सहयोग गरेको प्रति आपत्ति जनाउँदै पछिल्लो समय सरकारले गरेका गतिविधिका कारण कांग्रेस झन कमजोर बन्दै गएको उनले आरोप लगाए ।