कुमाल भाषाकाे ऐतिहासिक चलचित्र “औंठे छाप” सन्धिखर्कमा प्रदर्शन (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । कुमाल भाषा र जातीकाे संस्कृती र ईतिहाँस झल्काउने ऐतिहासिक चलचित्र “औंठे छाप” अर्घाखाँची जिल्लाको सन्धिखर्कमा प्रदर्शन भएको छ ।
चलचित्र औंठे छाप प्रदर्शनीको सधिखर्क नगरपालिका १ बसपार्क स्थित संगम टेन्ट हाउसको सभाहलमा पूर्व-उपप्रधानमन्त्री एवम प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए । उद्घाटन मन्तव्य राख्दै रायमाझीले अब सबै जातजातिका भाषा र सँस्कृतिले फैलने मौका पाउने बताए थिए ।
यस्तै चलचित्र औंठे छाप प्रदर्शनी समारोहमा प्रदेश सभा सदस्यहरु चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे लगायत बुद्धि रायमाझी, लिलबहादुर बिक, सुमित्रा मुखिया, हिमबहादुर जिसी लगायत वक्ताहरुले शुभकामना मन्तव्य दिएका थिए । 
आलोक कुमालले निर्देशन गरेको यो चलचित्रलाई अर्घाखाँची लगतै देशैभर प्रदर्शन गरिने भएको छ । फिल्म प्रदर्शनपछि प्राप्त रकमबाट कुमाल समुदायका गरिब विद्यार्थीलाई सहायता गर्ने निर्देशक आलोक कुमालले जानकारी दिए । यो फिल्ममा सत्तरी प्रतिशत कुमाल भाषा प्रयोग भएको पनि उनले बताए । लेख्नपढ्न नजान्दा समुदायका मानिसले पाएको दुःखको बारेमा फिल्मले देखाउन खोजेकोे छ ।
कार्यक्रम तिलक कुमालको स्वागत, खिमबहादुर कुमालको सञ्चालन र लालबहादुर कुमालको सभापतित्वमा सम्पन्न भएको थियो ।