अफगानिस्तानको काबुलमा एम्बुलेन्स बम विस्फोटमा परी कम्तीमा ९५ को मृत्यु, १ सय ५८ घाइते

अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको एम्बुलेन्स बम विस्फोटमा परी कम्तीमा ९५ को मृत्यु भएको छ। साथै १ सय ५८ जना घाइते भएका छन्। यसलाई यस वर्षकै सबभन्दा धेरै मानवीय क्षति हुने गरी भएको घटनाको रुपमा लिइएको छ।
काबुलको मध्य भागमा अत्यधिक भीड भएको स्थान लक्ष्य गरी विस्फोटक पदार्थ बोकेको एम्बुलेन्स विस्फोट गराइएको हो। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको हुनाले मृतकको सङ्ख्या बढ्ने सक्ने प्रहरीको अनुमान छ।
घाइतेको सङ्ख्या बढी भएकाले स्थानीय अस्पतालमा उपचार गर्न समस्या भएको पनि उनीहरुले जानकारी दिएका छन्। अस्पतालका स्वास्थ्यकर्मीले घाइतेलाई अस्पतालको गल्लीमा समेत राखेर उपचार गरिरहेका छन्।
विद्रोही र इस्लामिक स्टेट (आइएस) लडाकू समूहले बेलाबेलामा आक्रमण गरिरहने भएकाले काबुलका आमनागरिकका लागि अत्यन्त प्राणघातक भएको छ।
‘अहिलेसम्म मृत्यु हुनेहरुको संख्या ९५ पुगेको छ, १५८ जना घाइते भएका छन्। यसअघि गृह मन्त्रालयले ६३ जनाको मृत्यु भएको पुष्टि गरेको थियो,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिद माजरोहले भने।
काबुलको मध्य भागमा पर्ने सिदारात स्क्वायरमा स्थानीय समयानुसार दिउँसो करिब १२ः५० मा घटना भएको अधिकारीहरुले बताएका छन्।  विस्फोट भएको क्षेत्रमा गृह मन्त्रालयको पुरानो कार्यालय, युरोपेली संघलगायतका विभिन्न उच्च महत्वका संघसंस्था र कार्यालय छन्।
काबुलका लागि युरोपेली संघका प्रतिनिधि सुरक्षित रहेको र कुनै मानवीय क्षति नभएको अधिकारीहरुले जानकारी दिएका छन्।
एम्बुलेन्स आक्रमणको तालिवान लडाकू समूहले जिम्मेवारी लिएको छ। घटनापछि सरकारी सुरक्षाकर्मीहरुले घटनास्थल आफ्नो नियन्त्रणमा लिएर दोषीहरुको खोजी कार्य तीव्र पारेको जनाएका छन्।
काबुलमै रहेको एक होटलमा गत आइतबार तालिवान लडाकूहरुले आक्रमण गर्दा ४० जनाको मृत्यु भएको थियो। एजेन्सी