(पहिलो प्रकासित मिती: २०७४ माघ १३, शनिवार)
अर्घाखाँचीडट्कम संवाददाता
टोकियो, जापान (अर्घाखाँचीडट्कम) । जापानको फुकोआकामा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका –११ डिभर्नाका २३ वर्षीय प्रकाश आचार्य मृत फेला परेका छन् ।
सोमबार बिहान साथीहरुसँगै खाना खाएर स्कूल जानका लागि निस्केका आचार्य स्कूलमा नगएका र मंगलबार बिहानतिर स्कूलमा फोनमार्फत आफू बिरामी भएको जानकारी गराएका थिए । त्यसपछि उनी साथीहरुको सम्पर्कमा पनि नभएको बताइएको छ ।
बुधबार मृत भेटिएका उनी तीन वर्षदेखि जापानको फुकोआकाको एक भोकेसनल स्कूलमा अध्ययन गरिरहेका थिए ।
हाल मृतकको शवलाई प्रहरीकै नियन्त्रणमा राखिएको र कोरियामा रहेका उनका दाजु जापान आएपश्चात अन्तिम संस्कार गरिने युथ फर अल जापानका अध्यक्ष बाबुराम पौडेलले जानकारी दिए ।
मृत्युको कारण हालसम्मपनि नखुलेको र शवको प्रकृति हेदा शंकास्पद रहेको जापान प्रहरीलाई उदृत गर्दै पौडेलले जानकारी दिए ।
पारिवारिक अवस्था अत्यन्त्यै नाजुक रहेको घरमा सामान्य हिडडुल गर्नसमेत नसक्ने आमामात्र रहनुभएकोले मृतकको दाहसंस्कार र परिवारको सहयोगका लागि अर्घाखाँची समाज जापानले एक विज्ञप्तीमार्फत जापानबासी सबैमा सहयोगका लागि अपिल गरेको समाजका अध्यक्ष नेत्र विष्टले बताए ।
मृतकका बाबुको दुई वर्ष अगाडि दुर्घटनामा परि मृत्यु भएको थियो भने उनको मृत्युको पिडाले गर्दा हाल मृतक आचार्यकी हजुरआमाको पनि एकवर्ष अगाडि मृत्यु भएको थियो । हाल निजको घरमा बिरामी अवस्थामा रहेकी आमा मात्र भएको बताइएको छ ।