अर्घाखाँचीडट्कम संवाददाता
डिर्भना, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ धारामाथी डिर्भनामा जालकाँडा बाख्रापालन समुहका कृषकहरुलाई शुद्ध उन्नत जातका बोका विक्री भएको रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जालकाँडा बाख्रापालन समुहका कृषकहरुलाई सन्धिखर्क नगरपालिकाका मेयर कमलप्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, उपमेयर ठाकुर कुमार विकले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा १ सय ५३ घरधुरी संलग्न रहेको जालकाँडा बाख्रापालन समुहका कृषकहरूले शुद्ध बोयर बोकाबाट उत्पादित बोका विक्रीबाट पाउने झन्डै १४ लाख रकम हस्तान्तरण गरिएको हो । यहाँ उत्पादित ३ महिनामा नै ३० किलो र वार्षिक एक क्वीन्टलभन्दा बढी मासु हुने बोयर बोकाहरु बिक्रीको लागि जिल्ला, जिल्ला बाहिर पठाइएको थियो ।
हस्तान्तरण कार्यक्रममा जिल्ला पशु सेवा कार्यालयका बरिष्ठ पशु बिकास अधिकृत लोकराज पौडेल, जिल्ला वन कार्यालयका प्रमुख दिपक ज्ञवाली, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर लेकाली लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको अध्यक्षता गोपाल बस्याल, स्वागतमन्तब्य रेशौराज आचार्य र राधा नेपालीको संचालनमा सम्पन्न भएको थियो ।
जालकाँडा बाख्रापालन समुहका कृषकहरुलाई कृषि मन्त्रालय जिल्ला पशु सेवा कार्यालय अर्घाखाँचीको प्राविधिक सहयोग र किसानका लागि उन्नत बीउविजन कार्यक्रमको आर्थिक सहयोग रहेको छ ।
तस्बिर:- सहयोगी बिसी