बाँयाबाट क्रमश प्रदेश सांसद रामजीप्रसाद घिमिरे, चेतनारायण आचार्य, निर्मला क्षेत्री
वीरेन्द्र केसी कान्तिपुर
सन्धिखर्क, अर्घाखाँची । प्रदेश सांसद चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, निर्मला क्षेत्री र जाल्पा भुसाल संसदीय अभ्यासमा नयाँ अनुभव बटुल्दैछन् । संघीयतालाई संस्थागत गर्दै अर्घाखाँचीको सम्मृद्धि र विकासमा उनीहरूको जोड छ । प्रदेशसँगै जिल्लालाई पनि नमुना बनाउने कसरतमा उनीहरू छन् ।
स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि बन्न लागेको प्रदेश सरकारले विकासको अनुभूति हुने गरी काम हुने मतदाताको अपेक्षा छ । कृषि, पशुपालन, पर्यटन, पूर्वाधार विकास र उत्पादनमुखी योजना भित्र्याएर सम्मृद्ध जिल्ला बनाउने योजना रहेको आचार्यले बताए ।
दुई गाउँबाहेक सबै टोलबस्तीमा मोटर बाटो पुगेको छ । टोलैपिच्छे सडकका हिसाबले देशकै नमुना जिल्ला हो । तर बनेका सबै सडकमा मोटर चल्दैनन् । सरकारी बजेटबाट गाउँसम्म खनिएका सडकलाई टोलसम्म रेमिट्यान्स, स्थानीयको चन्दा संकलन र वनको आम्दानीबाट बनाइए । सबै सडकको स्तरोन्नति, नाली कटानसहित ग्राभेल र पिच गर्ने पहिलो काम भएको उनले बताए । सन्धिखर्क–गोरुसिंगे सडकमात्रै पिच छ । अरू सबै कच्ची छन् ।
सदरमुकामका गल्लीमा हिउँदमा धूलो र वर्षामा हिलोले सर्वसाधारणलाई हैरानी बनाएको छ । सबै सडक धूलो र हिलो मुक्त बनाउने हाम्रो प्रयास हो, उनले भने । गाउँमा उत्पादित वस्तुलाई सहरसम्म ल्याउन पनि सहज हुन्छ । गाउँको आम्दानी पनि भित्रिन्छ । ‘जिल्लालाई कसरी विकास गर्न सकिन्छ, सबै सांसद एक ठाउँमै बसेर योजना बनाउँछौं,’ उनले भने, ‘दिगो विकासका लागि योजनाबद्ध ढंगले काम गरेर देखाउँछौं । त्यसका लागि प्रदेश नीति बनाउन भूमिका निर्वाह हुन्छ ।’
अर्घाखाँचीलाई कृषि, पशुपालन र उत्पादनमै जोड दिने उनको भनाइ छ । ‘आर्थिक रूपमा टेवा पुग्ने र सम्मृद्धिको अभियान सफल मार्ने माध्यम नै कृषि क्षेत्र भएकाले सबै टोलमा कहाँ के उत्पादन हुन्छ, त्यसको खाका तयार गरेर कार्यक्रम भित्र्याउँछौं,’ उनले भने । क्षेत्र १ बाट निर्वाचित एमाले सांसद आचार्यले कृषिमा लाग्ने युवालाई प्रोत्साहन गर्न अनुदान पनि दिने बताए । जिल्लाका पर्यटकीय स्थलको पूर्वाधार विकास गरेर पर्यटक भित्र्याउन उनले जोड दिए ।
चुनावमा बोलेका वाचा पूरा गर्न विकासका योजना धेरै भित्र्याएर नमुना जिल्ला बनाउने दाबी घिमिरेको छ । जिल्लाको दक्षिणी सिमलपानी, सिद्धारालगायत चुरे क्षेत्र र वन सम्पदालाई वैज्ञानिक ढंगले व्यवस्थापन र संरक्षण गरिने योजना उनले सुनाए । सन्धिखर्क–गोरुसिंगे सडक डबल कटिङ, गच्छे–भालुवाङ सडक स्तरोन्नति, सन्धिखर्क–नुवाकोट–प्युठान सडक निर्माण पूरा र घुम्ती–पाल्पा सडक निर्माण योजना छ । ‘अब नयाँ सडकका लागि बजेट खर्च गरिँदैन,’ उनले भने, ‘स्तरोन्नति र ग्राभेल हुन्छन् ।’ क्षेत्र २ का ३३ वडाका सबै सडक पिच हुने उनले दाबी गरे । सांसदको कार्यकालमै गाउँ र नगरपालिकाका भौतिक पूर्वाधार निर्माण गर्ने, खानेपानी र सिचाइँ नपुगेको बस्तीमा पुर्याउने उनले बताए । ‘निर्वाहमुखी कृषिलाई आधुनिकीकरण गर्न कृषि प्राविधिक राखेर व्यवसाय उन्मुख बनाउने, कृषि र पशुपालन नै सम्मृद्धिका मुख्य आधार हुन्,’ उनले भने, ‘विदेश जाने युवालाई यहीँ स्वरोजगार बन्छन् ।’ प्रदेश, स्थानीय तह र केन्द्रीय सरकारबीच आपसी समन्वय गरी विकासका काम गर्ने उनले प्रतिबद्धता जनाए । जिल्लालाई नमुना बनाउन सबै दल एक ठाउँमा उभिएर सहकार्य गर्नु जरुरी रहेको उनको भनाइ छ ।
मुलुक संघीयतामा गएपछि पहिले संरचना बनाउनु नै मुख्य चुनौती रहेको देखिएको क्षेत्रीले बताए । अहिले प्रदेश र स्थानीय तहमा भौतिक पूर्वाधार र संरचना छैनन् । पहिला संरचना बनाउने र विकास गरेर नमुना प्रदेश बनाउन चुनौतीमै काम गर्नुपर्ने उनको भनाइ छ । ‘सम्मृद्धिको सुरुवात गरेर देखाउनुपर्छ,’ उनले भनिन्, ‘उत्पादनमै जोड दिनुपर्छ ।’
अर्का सांसद भुसालले अहिले पनि महिलाले केही गर्न सक्दैनन् भन्ने सामन्ती चिन्तन कायमै रहेकाले यसलाई चिर्नु पहिलो प्राथमिकता रहेको बताइन् । सबै पाटीका पुरुष नेताले चिन्तन बदलेर महिलाले उल्लेखनीय काम गर्छन् भन्ने विश्वास राखेर सम्मृद्धिको अभियानमा जुट्नुपर्ने बताइन् । ‘गाउँलाई सबल पार्ने योजना भित्र्याउनुपर्छ,’ उनले भनिन्, ‘संसदमा कृषि, पर्यटन र पशुपालनलाई मुख्य जोड दिएर खाद्यान्न, मसला बालीलगायत गाउँलाई उत्पादनमुखी बनाउनुपर्ने कुरा राख्छु ।’