छत्रगञ्ज काठमाडौँ सम्पर्क समाजको बनभोज सम्पन्न, “उई खोलीको पानी” गीतमा छमछमी नाचे छत्रगञ्जेली (तस्बिर सहित)

अर्घाखाँची डटकम सम्बाददाता
काठमाडौं  २० माघ २०७४ । छत्रगञ्ज काठमाडौँ सम्पर्क समाजले २० माघ शनिबार, बालाजु बाईसधारा पार्कमा बनभोजको आयोजना गरेको थियो । यो समाज स्थापना भएपछि आयोजित तेस्रो बनभोज कार्यक्रम थियो ।
छेउमा केरुङ्गा काठमाडौँ सेवा समाजको पनि पिकनिक तथा साधरण सभा भईरहेको थियो । गाउँको भूगोल शहरमा नभएपनि मनको सामिप्यता देखिन्थ्यो, छत्रगञ्जेली र केरुङ्गेलीहरुको ।
पिकनिकमा छत्रगञ्जबाट काठमाडौँ आइ बसोबास गर्ने कम्तिमा १२० जनाको उपस्थिति थियो । “आफ्ना गाउँका चेलीबेटी, दाजुभाई दिदीबहिनीहरु भेट्दा र उहाँहरु दिनभर नाचेको देख्दा गाउँको तिर्सना मेटिएको अनुभव भयो” पिकनिक संयोजक पदमलाल पाण्डेले भने ।
छत्रदेव-५ डिहीका आमाहरुले बनाएको “होम मेड” अचार पनि पिकनिकमा लगिएको थियो । गाउँको उत्पादन देख्न पाएकामा उपस्थित मानिसहरु खुसी देखिन्थे । “गाउँमा आमा समुहले आफ्नै पौरख गरेर आर्जन गर्न सक्छन्, भन्ने सन्देश यसले दिएको छ”, सहभागी महिलाहरुले यसो भनेका थिए । 
खोला खोली, पाखा पखेरो, शब्दले मन छुने रहेछ । अन्तमा “उई खोलीमा पानी…”, “माझी दाई…”, “आँधी खोला…” इत्यादि गीतहरुमा सम्पूर्ण छत्रगञ्जेली छमछमी नाचेका थिए ।