बङ्लादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई पाँच वर्षको जेल सजाय फैसला भएको छ । भ्रष्टाचार अरोपमाथि अन्तिम सुनुवाई गर्दै अदालतले उनलाई पाँच वर्ष जेल सजायको फैसला सुनाएको हो ।
कडा सुरक्षा व्यवस्थाबीच यहाँको विशेष अदालतका न्यायाधीश मोहम्मद अख्तारुज्जमानले ६३२ पृष्ठ लामो फैसला बिहीबार गरेको अधिकारीहरूले जनाएका छन् । अदालतले खालिदाका छोरा तारिक्यु रहमानसहित पाँच जनालाई दस/दस वर्षको जेल सजाय सुनाएको छ । बङ्लादेशका कानूनमन्त्री अनिसुल हकले पत्रकारसँगको कुराकानीमा भने, “उहाँ (खालिदा जिया)लाई बिहीबार नै जेलमा लगिनेछ ।”
उनले अहिलेको फैसलाका विरुद्धमा सर्वोच्च अदालतमा पुनरावेदन दिन सक्ने पनि मन्त्री हकले बताए । खालिदा जियासहित पाँच जना विरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दा सन् २००८ को जुलाईमा दर्ता भएको थियो । सन् २००१ देखि २००६ सम्म खालिदा बङ्लादेशको प्रधानमन्त्री बनेकी थिइन् ।
जियाले वर्तमान प्रधानमन्त्री सेख हसिना नेतृत्वको सरकारले आफू र आफ्नो छोरा विरुद्ध राजनीतिक प्रतिशोध राखेर भ्रष्टाचार गरेको मुद्दा लगाएको आरोप लगाएका छन् ।