गाउँको अवस्थाबारे गुनासा पोख्दै अर्घाखाँची सिद्धाराका बासिन्दा ।
वीरेन्द्र केसी कान्तिपुर
सिद्धारा, अर्घाखाँची । सबै जिल्लाका आफ्नै दुर्गम बस्ती छन् । जिल्लाको २७ प्रतिशत भूगोल ओगटेको सिद्धारा अर्घाखाँचीको दुर्गम बस्ती हो । नयाँ संरचना अनुसार शीतगंगा नगरको तीन वडामा विभाजन गरिएको छ । पहिले एउटै गाविस थियो । क्षेत्रफलका हिसाबले मुलुककै ठूलो नगरपालिकाभित्र पर्ने सिद्धारामा छरिएर रहेको पातलो बस्तीमा रोल्पालीको जमघट बाक्लिँदै गएको छ ।
ग्रामीण भेगबाटसहर र तराईका सुविधासम्पन्नठाउँमा बसाइँ सार्ने धेरैको रोजाइमा पर्छ । तर, रोल्पाका बासिन्दालाई सिद्धाराकोभूमि नै जीवन धान्ने आधार ठान्दै बसाइँसराइ बढदो छ ।
दस वर्षअघि रोल्पाबाट सिद्धारामा जग्गा किनेर बसेका भीमबहादुर केसी स्थानीय तहको चुनावमा शीतगंगा नगरपालिका ९ मा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भए । धेरै सशस्त्र द्वन्द्वका बेला रोल्पा छाडेर यहीं आएर बसे । जल, जमिन, जंगल प्रशस्त र अन्न उब्जनी रोल्पाभन्दा यहाँ तेब्बर हुने भएकाले पनि आकर्षित भएको उनले बताए । तर, यहीँ बस्दै आएका सिद्धारेली भने विदेश र स्वदेशमा पैसा कमाएपछि घरबारी चटक्कै छाडेर तराई बसाइँसराइ सरेका छन् ।
यहाँ पातलो छरिएर रहेको बस्तीभन्दा जंगल धेरै छ । यही भौगोलिक जटिलताका कारण विकासको गति सुस्त छ । खानेपानी, शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत् लगायतका सेवा सबै बस्तीसम्म पुग्न सकेको छैन । केसीका अनुसार छरिएर रहेको बस्तीलाई एकै ठाउँ बनाएविकास गर्न सजिलो हुने बताए । भौगोलिक जटिलताका कारण विकास गरेको देखिँदैन । कृषि र पशुपालनका योजना ल्याएर उत्पादन बढाउन सकिने उनले बताए ।
स्थानीय ज्ञानेश्वर बेल्बासेले सिद्धारालाई दोस्रो कर्णालीको रूपमा गणना गर्न सकिने बताए । उनले सिद्धारालाई राज्य र जिल्लाले विकास निर्माण र सरकारी सुविधामा उपेक्षा गरेको बताए । गाउँमा आयआर्जनका कार्यक्रम बजेट अभावमा पुग्न नसकेको उनले बताए । यहाँ खेती उत्पादन राम्रो हुन्छ । सरकारले यतातिर ध्यान दिए सिद्धाराको उत्पादनले सायद अर्घाखाँचीको आधा जनसंख्यालाई खाद्यान पुग्ने उनले बताए ।
शितगंगा नगरपालिकाको वडा नम्बर ९, १० र ११ मा बस्तीभन्दा चौगुना बढी जंगल र डरलाग्दा भीरपाखा छन् । पातलो बस्ती छ । एउटै वडाको गाउँ हिँड्न दुई दिन लाग्छ । घरजग्गा बिक्री नभएपछि त्यसै छाडेर पनि गाउँले सहर झरेका छन् । विकट भएकै कारण सरकार र जिल्लामा आउने बजेट यो गाउँमा पुगेको छैन । स्थानीय उमाकान्त पन्थीका अनुसार सिद्धारालाई सरकारले समेत उपेक्षा गरेको छ । यहाँका जनताको समस्या र विकास निर्माणको योजना दिन कोही आउँदैनन् । ‘पशु र कृषिको राम्रो सम्भावना बोकेको सिद्धारा हो,’ उनले भने, ‘अब स्थानीय, प्रदेश सरकारले ध्यान दिनुपर्छ ।’
वर्षमा करिब ५० घरपरिवारले गाउँ छाडेको स्थानीय बताउँछन् । रोल्पाबाट आउने आधा जति छन् । यहाँबाट रूपन्देही, कपिलवस्तुको चन्द्रौटा, महेन्द्रपुरमा बसाइँ सरेका छन् । पुस्तौंदेखि बस्दै आएका घरबारी बिक्री भएका छैनन् । पैसा कमाएपछि गाउँमा बस्न कोही पनि रुचाउँदैनन् । घरबारी बिक्री नभएर त्यसै छाडेपछि खेतबारीचौरजस्तै छन्, घर भत्किएका छन् । रोल्पाबाट आउने राम्रो बस्ती छानेर बस्ने गरेका छन् ।
राजनीतिक दलका नेता, गाउँमा धनी र समाजसेवी द्वन्द्वका बेला सबै गाउँ छाडे । शान्ति प्रक्रियापछि उनीहरू गाउँ फर्केनन् । शिक्षा स्वास्थ्य, सञ्चारको सुविधा राम्रो छैन । एक गाउँबाट अर्काे गाउँमा जान घण्टा होइन दिनै लाग्छ । बिरामी पर्दा उपचार नपाई ज्यान जाने खतरा पनि उस्तै छ । दुर्गम बस्तीमा सिटामोलसम्म पुग्दैन । आठ–दस घर भएको गाउँ राम्रो मानिन्छ । ९० प्रतिशत घर एक्लाएक्लै त्यसमा पनि एक घरबाट अर्काे घरमा पुग्न घण्टांै उकालो–आरालो पैदल हिँड्नुपर्ने बाध्यता छ । बढी युवाहरू गाउँमा भेटिँदैनन्, अभिभावका चेतनाकै अभावका कारण तेह्र, चौध वर्ष उमेर भएपछि भारत र अन्य मुलुकमा रोजगारका लागि पठाउने र छोराहरूले कमाएको पैसाले बसाइँसराइ गर्ने आधार बन्दै गएको गाउँले बताउँछन् । यसरी गाउँ छाडेर जानेहरूले खेतीयोग्य जमिन र घर त्यसै छाडेर जान्छन् । धेरैजसो घरहरू खर, स्याउलाले छाएका झुप्राजस्ता छन् ।
गाउँमा पढेलेखेका, जागिर खाएका, वैदेशिक रोजगारमा रहेका कोही फर्कंदैनन् स्थानीय मनोज घर्तीले भने ।