साथीभाइ र चिनजानका भेटेर भलाकुसारी गर्ने सन्धिखर्कको सुन्दर शान्ति बगैंचा

शान्ति बगैंचाको शिवालय मन्दिर ।
वीरेन्द्र केसी कान्तिपुर 
सन्धिखर्क, अर्घाखाँची । हरियाली बगैंचामा चराचुरुंगीको चिर्बिर आवाज । छेवैमा शिवालय मन्दिर । साथीभाइ र चिनजानका भेटेर भलाकुसारी गर्ने सन्धिखर्कको सुन्दर शान्ति बगैंचा ।
अनुहारमा अपरिचित तर फोन र फेसबुकमा परिचित साथीबीच पहिलो भेटघाट हुने स्थल र पाका उमेरलगायत सबैका तीतामीठा कुरामा गफिने मनोरम दृश्य । अनि बुटवल, काठमाडौं जाने हरेक यात्रुले शीतल हावा खाँदै बस र माइक्रो कुर्ने थलो । बेलुकीपख मन्दिर वरिपरि र फूलको बगैंचामा बसेर कलेज पढ्ने विद्यार्थीले किताबै ल्याएर पढ्छन् । दिनभर जागिर, पेसा व्यवसाय गरेर बेलुकीपख भेटघाट हुने स्थलसमेत बनेको छ ।
बूढापाकाका अनुसार अहिले पनि त्यति बिग्रेको त छैन । स्याहार र संरक्षण नपाएको मात्र हो । कुनै बेला शान्ति बगैंचा बखान गर्न लायक थियो । लोभलाग्दो र मनमोहक शान्ति बगैंचा पछिल्लो समय संरक्षित देखिँदैन । कहिलेकाहीँ सरसफाइ गरे पनि हेर्न लायक पर्यटकीय संरचनामा कसैले ध्यान दिएको छैन । सन्धिखर्क नगरपालिकाको अगुवाइमा प्रजातन्त्र दिवसमा बगैंचा सफाइ गरिएको हो । पुराना संरचना पनि जीर्ण छन् । तर पनि गर्मी छल्न बगैंचामा बस्नेको भीड नै लाग्छ ।
२००६ सालमा करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको थियो । त्यतिबेला कुर गाउँका पुनाराम नेपालीले धर्म कमाइने भन्दै सय गाईलाई नुन खुवाएर खेत सार्वजनिक भएको घोषणा गरेका थिए । त्यसपछि आँपका रूख रोपेर शान्ति बगैंचा बनाइयो ।
२०३२ मा सन्धिखर्कमा जिल्ला सदरमुकाम स्थापना भएपछि बगैंचा अतिक्रमण थालियो । नेपालीले दानस्वरूप सार्वजनिक गरेको बगैंचा कसैको स्वामित्वमा नभएकाले सरकारीस्तरबाटै अतिक्रमण गर्न सहज भएको थियो । अतिक्रमणभित्र सिँचाइ, सन्धिखर्क नगरपालिका, प्रहरी, आयुर्वेद, भूसंरक्षण, शिक्षा, घरेलु, अदालत, सरकारी वकिलको कार्यालय, जिविस गेस्ट हाउस, उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघको कार्यालय र केही निजी घर बनिसकेका छन् । ०५० सालमा छ वटा व्यापारिक सटर निर्माण र सन्धिखर्क–गोरुसिंगे सडकको ट्रयाक खोल्दा खुम्चिएर अहिले बगैंचाको क्षेत्रफल १८ रोपनी मात्रै छ । दुई वर्षअघि सन्धिखर्क नगरपालिकाले सडक छेउमा व्यापारिक सटर निर्माण गर्ने योजना अघि सरेको थियो । सटर बने अझै साँधुरिने र बगैंचाको सुन्दरता घट्ने भन्दै नागरिक स्तरबाट विरोध भएको छ ।
‘यस्तो जग्गा सरकारले नै संरक्षण गर्नुपर्ने हो,’ बुद्धिबहादुरले भने, ‘उल्टै अतिक्रमण गर्नु दु:खद् हो । कसैको स्वामित्वमा भएन त्यसैले अतिक्रमण गर्न सजिलो भयो ।’ त्यतिबेला गाईलाई नुन खुवाएर निजी जग्गा सार्वजनिक गरेपछि धर्म कमाइने र भावी सन्ततिलाई सुखशान्ति हुने विश्वासले पुनारामले जग्गा सार्वजनिक गरेका थिए ।
बगैंचाभित्र बसेर आनन्द र मनमा शान्ति मिल्ने ठाउँ साँघुरिंदा उनले चिन्ता व्यक्त गरे । ०५० मा सन्धिखर्क गाविसले व्यापारिक सटर बनाएपछि बगैंचाको नामनिसाना मेटिने डरले आफ्नै लगानीमा गेट र तारजालीले घेरेर जोगाएको उनले बताए । अझै पनि थप सटर बनाएर बगैंचा साँघुर्‍याउन खोज्नु ठीक नभएको उनको तर्क छ ।
२०३९ मा मारिएका विद्यार्थी नेता टंक भुसालको सालिक छ । कांग्रेस र एमालेले निर्माण गरेका कार्यक्रम गर्ने दुई मञ्च जीर्ण भइसके । आव ०७१/७२ मा नगर परिषद्बाट बगैंचा संरक्षण गर्न १० लाख रुपैयाँ छुट्याइएको थियो ।
त्यो बजेट कामै नगरी अनियमितता भएको स्थानीयले बताए । ‘बगैंचा संरक्षणका लागि व्यक्तिगत रूपमा चन्दा उठाउन हामी तयार छौं,’ स्थानीय रामचन्द्र पोखरेलले भने । पार्क र संरचना बनाएर पर्यटकीय स्थल बनाउनुपर्ने उनको तर्क छ । शिवालय मन्दिरमा विवाह, व्रतबन्धलगायत पूजाआजा गर्नेको पनि दिनहुँ भीड हुन्छ ।
अहिले छ वटा व्यापारिक सटरबाट वार्षिक २१ लाख रुपैयाँ नगरपालिकाले उठाइरहेको छ । सरकारी स्तरबाट अतिक्रमण गरी भवन बनाउँदा बगैंचाको स्वरूप बिग्रेको उनले बताए ।अतिक्रमण भएको जग्गा फिर्ता गराउन नसके पनि बचेको क्षेत्रफललाई संरक्षण नगरे नरोकिने उनले बताए । सडकको दुई साँधुरा मोडलाई फराकिलो बनाउँदा पनि बगैंचा नै मासिन्छ । आँपका बोटलाई संरक्षण गरी, फूल रोप्ने र बस्ने ठाउँ बनाउनुपर्ने देखिन्छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि बगैंचालाई संरक्षण गर्न पर्यटकीय संरचना बनाउने उद्घोष गरेका छन् तर काम अघिबढेको छैन ।
सन्धिखर्क नगर प्रमुख कमलप्रसाद भुसालले बगैंचामा फ्रि–वाइफाई तत्काल सञ्चालन गर्ने र विभिन्न संरचना बनाएर अझै सुन्दर पार्ने योजना सुनाए । त्यसका लागि डिजाइन भइरहेको उनको दाबी छ । बगैंचाको संरक्षण गर्न धेरै कार्यक्रममा कुरा उठ्ने गरे पनि अहिलेसम्म ठोस योजना बन्न नसकेको शिवालय मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष राधा घिमिरेले बताइन् ।
Image result for शान्ति बगैंचा सन्धिखर्क