पणेनाका ५० भन्दा बढी युवाले कुखुरा, बाख्रा र गाईभैंसी पालनबाट मनग्य आम्दानी गर्दै

तीनथुप्रेमा रहेको शिवालय पोल्ट्री फर्ममा काम गर्दै पाणिनि गाउँपालिका ७ का वडाध्यक्ष गुनाखर अधिकारी ।
वीरेन्द्र केसी कान्तिपुर
पणेना, अर्घाखाँची । वैदेशिक रोजगारीबाट फर्किएका जिल्लाका धेरै युवाको ध्यान तरकारी खेती, कुखुरा, गाईभैंसी र बाख्रापालनलाई व्यवसायीकरण गर्नमै छ । विदेशमा भन्दा मुलुकमै कृषिबाट दोब्बर आम्दानी भएपछि उनीहरू आकर्षित भएका हुन् । दु:ख पाएर फर्किएका धेरैले यस्तै रोजेका छन् । 
पाणिनि गाउँपालिका पणेनाका ५० भन्दा बढी युवाले ‘फार्म’ सञ्चालन गरेर कुखुरा, बाख्रा र गाईभैंसी पालनबाट मनग्य आम्दानी गरिरहेका छन् । वैदेशिक रोजगारबाट फर्किएका ११, भिसा रद्द गरेर ५ सहित ५० युवाको समूहले बाह्रै महिना तरकारी फलाउँछन् । सुन्तलाका बोटमुनि काउली, मूला, गाजर, साग, आलुलगायत लगाएका छन् ।
शिवशक्ति मिश्रित कृषक समूह गठन गरेर उनीहरू संगठित भएका हुन् । उत्पादित तरकारी बिहान तानसेन र बुटवल जाने बस र जिपमा भरिभराउ हुन्छ । सिँचाइ सुविधा भएकाले बारीमा उब्जनी राम्रो हुन्छ । समूहका पूर्वअध्यक्ष रेवती पौडेल पैसा कमाउन केही वर्ष विदेश गए । त्यहाँको काम सन्तोषजनक नभएपछि फर्किएर भिराला बारीमा आलु, गोभी, काउली, मूला फलाएका छन् । व्यावसायिक तरकारी खेती गर्नुभन्दाअघि खान नपुगेको भन्दै रोजगारी खोज्दै विदेश हान्निएका थिए । ‘तरकारी जति उत्पादन गरे पनि बिक्री हुन्छ,’ उनले भने, ‘महिनामा १५/२० हजारका लागि विदेश धाउनु ठीक रहेनछ । त्यहाँ गर्ने दु:ख यहाँ गरे तेब्बर कमाइ गर्न सकिन्छ ।’
बजारमा अहिले तरकारी र खाद्यवस्तुमा विषादी हुन्छ भन्ने हल्ला छ । आफैं बारीमा गोबर मल, पिसाब र कम्पोष्ट मल राखेर उत्पादन गरेको तरकारी विषादीमुक्त हुने र रोग नलाग्ने भएकाले खेतीलाई थप विस्तार गर्ने उनले योजना सुनाए । दस रोपनीमा लगाएको तरकारीले वर्षमा ५ लाखभन्दा बढी आम्दानी हुने उनले बताए ।
परम्परागतभन्दा कृषिमा आधुनिकीकरण गर्दा थोरै जग्गामा धेरै उब्जनी गर्न सकिन्छ । एउटै जग्गामा अन्तरबाली प्रणाली अपनाएर फाइदा लिएका छन् । सुन्तलाका बोटमुनि तरकारीले बोटलाई मल पुग्छ । सुन्तलाका दाना ठूला हुन्छन् । आलु खेतीमा मूला, साग लगाएको छ । अर्का युवा रेवती पौडेलले पहिलो आम्दानी सुन्तला र दोस्रो तरकारी भएको बताए । विदेशबाट फर्किएर व्यावसाय सुरु गर्दा गाउँलेले बारीबाट लाखौं रुपैयाँ कमाइ हुन्छ भन्ने कसैले पत्याएका थिएनन् तर विस्तारै राम्रो भएको बताए । उनका १५ सय सुन्तलामध्ये ७ सयले फल दिइरहेको छ ।
सुन्तलाबाट १ लाख र तरकारीबाट ७० हजार वर्षमा कमाएको उनले बताए । सुरुमा ९ युवाले सुरु गरेको व्यवसायमा सात वर्षको अन्तरालमा ३९ युवा यतातिर आकर्षित गर्नु उपलब्धि भएको पौडेलको भनाइ छ । भिराला जग्गामा गोभी, खुर्सानी, लहरेबाली आलुलगायत तरकारी उत्पादन हुने गर्छ ।
डिभर्नामा महिला मिलेर नमुना महिला बाख्रापालन समूहमा ३ सय ५० बाख्रा पालेका छन् । यसमा पुरुषको पनि उत्तिकै साथ छ । महिलाले नै पुरुषलाई विदेश जान रोकर बाख्रापालनमा लगाएका हुन् ।
पालीका गुनाखर अधिकारीले तीनथुप्रेमा ३५ रोपनी खेत भाडामा लिएर कुखुरापालन गरेका छन् । शिवालय पोल्ट्री फर्ममा ६ हजार कुखुरा छन् । दैनिक ४ हजार ५ सय अण्डा उत्पादन हुन्छ । ‘महिनामा १५ लाख ५० हजारको कारोबार हुन्छ,’ उनले भने, ‘दु:ख गरेपछि परिणाम सन्तोषजनक छ । अण्डाको माग अत्यधिक छ ।’ उनी पाणिनी गाउँपालिका ७ का वडाध्यक्षसमेत हुन् । उनले व्यावसायिक कृषि फर्म र उत्पादनमूलक क्षेत्रमा लगाएर आफ्नो वडालाई समृद्ध बनाउने दाबी गरे ।