सन्धिखर्कमा तीन दिने बाख्रा, गाई र भैसीपालन तालिम, नगर प्रमुख भुसाल द्दारा पाँच वर्षभित्रमा सन्धिखर्कलाई पशुपालनबाटै सम्बृद्ध बनाउने दावी (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची फागुन १४ (अर्घाखाँचीडट्कम) । सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले पाँच वर्षभित्रमा सन्धिखर्क नगरलाई पशुपालनबाटै सम्बृद्ध बनाउने बताउनुभएको छ । कृषिमा आधुनिकीकरण गर्दै उन्नत जातका पशुपाल्ने कार्यक्रमले नगरवासी कृषकलाई दूध, खसीबोका, कुखुरा र अण्डाबाट आर्थिक स्थिति बढाउन ठूलो सहयोग पुग्ने बताउनुभयो । 
सन्धिखर्क नगरपालिका पशु सेवा शाखाले आयोजना गरेको तीन दिने बाख्रा, गाई र भैसीपालन तालिमको आज उद्घाटन गर्दै मेयर भुसालले व्यावसायीक पशुपालनमै भविष्य उज्ज्वल रहेकाले सबै कृषक उत्साहित भएर कृषिकर्ममा लाग्न आग्रह गर्नुभयो । उन्नत जातका भैसी र गाइबाट दूध उत्पादन बढाउने, बाख्रापालनबाट खसीबोकाकोे तौल बढाएर कृषकले धेरै आम्दानी लिनुपर्ने बताउनुभयो । 
तालिमको उद्घाटनमा जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डाक्टर लोकनाथ पौडेलले परम्परागत प्रणाली भन्दा माथि उठेर सबै कृषक व्यावसायीक बन्नुपर्ने बताउनुभयो । उन्नत जातका गाइभैसी र बाख्राबाट राम्रो आम्दानी लिन सकिने पौडेलको दावी छ । किमडाँडा, अर्घा, वाङला लगायतका गाउँबाट बजारका डेरीमा १२ सय लिटर दूध दैनिक आउछ । डिभर्नामा बोयर जातको बोकाबाट जन्मेका पाठापाठी जन्मिदै ६ किलोसम्मको हुने र ६ महिनामा खसीबोकोकाको २० किलोसम्म तौल हुने हुँदा कृषकले राम्रो आम्दानी गरेकाले अब बोयर जातको बोकालाई जिल्लाभर पु-याइने पौडेलले बताउनुभएको छ । 
सन्धिखर्क नगर उपप्रमुख ठाकुर कुमार विक, प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम, सन्धिखर्क नगरपालिका वडा नं. १२ का अध्यक्ष नारायण खडका, कान्तिपुर दैनिकका उपसम्पादक वीरेन्द्र केसी लगायतले व्यावसायीक पशुपालनबाट मनग्य आम्दानी लिन सकिने भएकाले तालिममा सिकेको कुरा कृषकले व्यवहारमा उतार्नुपर्ने सुझाव दिनुभएको थियो । 
पशु शाखा प्रमुख राधा पाण्डेको अध्यक्षता, रेश्मीराज ज्ञवालीको स्वागत र बुद्धि गौतमको सञ्चालनमा उद्घाटन शत्र सम्पन्न भएको थियो । गोठ देखि ओठसम्म, स्वच्छ र सफा दूध, उन्नत जातको घाँस खेती तथा नश्ल सुधारबाट दूध उत्पादनमा वृद्धि गरौं, भन्ने मुल नाराका साथ आजबाट शुरु भएको तालिममा सन्धिखर्क नगरपालिका भित्रका ५० जना भन्दा बढी कृषक सहभागी भएका छन् ।