माधव बेल्बासे
पाँकुरी, अर्घाखाँची, २६ फागुन । शितगंगा नगरपालिका वडा नं ९ पाँकुरीमा अवस्थित पाँकुरी आधारभूत विद्यालयको ३५ औँ बार्षिकोत्सव तथा विविध कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
कार्यक्रम माननिय राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्काको प्रमुख आतिथ्यतामा समुदघाटन गर्दै व्यवहारिक तथा गुणात्मक शिक्षामा जोड दिदै केन्द्रिय तहबाट आफुले सक्दो सहयोग गर्ने बताउनुभयो ।
उहाँले कार्यक्रममा मन्तव्य राख्दै यस क्षेत्रमा थुप्रै विद्यालयहरु रहेको भएता पनि यस विद्यालयले अन्य विद्यालय भन्दा फरक तरिकाले नमुना विद्यालयका रुपमा अगाडी बढेकोमा शुभकामना र धन्यवाद व्यक्त गर्नुभयो । उहाँले यस क्षेत्रकै उत्कृष्ट विद्यालयमा अगाडी बढेको समेत उल्लेख र प्रशंसा गर्नुभयो । कार्यक्रममा विद्यालले पूर्व अध्यक्ष, पूर्व प्रअ, पूर्व शिक्षक, पूर्व विद्यार्थी, सहयोगी दाता, वडाका स्थानिय जनप्रतिनिधी लगाएत अर्घाखाँची जिल्ला समन्वय समितीका उपसभापती ऋषी बहादुर पुलामी र नवनिवार्चित राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्कालाई दोसल्ला र सम्मान पत्र सहित सम्मान गरेको थियो ।
पाँकुरी आविले चलाएको माई हेल्प फर एजुकेशन मार्फत विद्यालयलाई आर्थिक तथा भौतिक सहयोग गर्ने दाताहरुलाई प्रमुख अतिथी र अध्यक्षले सम्मान गर्नुभएको थियो । सम्मान हुनेमा रेश्मीराज अधिकारी, पुस्कर खनाल, घनबहादुर गाहा, जसबहादुर रोकाहा, छविलाल कडेल, दोर्ण आचार्य, सुरेन्द्र राना मगर, विजय कुवँर क्षेत्री, चन्दु थारू, मधु भट्टराई, दिपक सारु रहनु भएको थियो । विद्यालयको ३५ औं वार्षिक उत्सव समारोहमा नवनिर्मित छात्रवास भवनको उदघाटनमा बोल्दै जिल्ला समन्वय समितिका उपसभापती ऋषी बहादुर पुलामीले पाँकुरी आधारभूत विद्यालयका समस्याहरुलाई सम्बन्धित निकायसम्म पुर्याउन पूलको काम गर्ने आश्वासन दिनुभयो । बिशेष गरेर विधालयमा शिक्षक दरबन्दीको समस्या रहेकोले यसको समाधानका लागि आफू गम्भिर भएर समाधानमा लाग्ने बताउनुभयो ।
कार्यक्रममा भुपु प्रअ बाट कृष्ण पौडेल, सहयोगीदाताबाट छबिलाल कडेंल, वडा नं.९ का वडा अध्यक्ष भिम बहादुर केसी लगायतले बोलेका थिए । सो अवसरमा विद्यालयका प्रधानाध्यापक गणेश बेल्बासेले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै सक्रिय रुपमा अध्यापन गरी शैक्षिक क्षेत्रमा अमुल्य योगदान गरेको भन्दै उत्कृष्ट शिक्षक, अभिभावक तथा सल्लाहकारलाई दोसल्ला र सम्मान् पत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।
त्यस्तै अर्कोतर्फ विद्यालयस्तरीय तथा वडा स्तरीय आयोजित विविध खेलकुद तथा अतिरिक्त कार्यक्रममा उत्कृष्ट ल्याउने विद्यार्थीहरुलाई अविर, माला सहित पुरस्कार र प्रमाण पत्र गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुम बहादुर लुईचेको अध्यक्षता र प्रअ गणेश बेल्बासे संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।