बिहारका पूर्वमुख्यमन्त्री लालु यादवलार्ई पशुदाना घोटालाकान्डमा सात वर्षको जेल सजाय


भारत बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलार्ई पशुदाना घोटालाकान्डको चौथो मुद्दामा सात वर्षको जेल सजाय सुनाइएको छ ।
राँचीको विशेष अदालतले लालुलाई दोषी ठहर गर्दै ३० लाख भारतीय रुपैयाँ जरिवानासमेत तोकेको छ ।
यस कान्डमा जोडिएका मुद्दाहरुमा लालुविरुद्धको यो सबैभन्दा ठूलो सजाय हो ।
पशुदाना घोटालाकान्ड सन् १९९० को दशकमा सार्वजनिक भएको थियो । त्यसबेला लालु बिहारका मुख्यमन्त्री थिए ।
सन् १९९५ देखि जनवरी १९९६ बीच राज्य कोषबाट ३ करोड १३ लाख भारु घोटाला भएको थियो । यो मुद्दामा लालुसहित ३१ आरोपित थिए ।
पशुदाना घोटालाकान्डमा दोषी ठहरिएपछि लालु चुनावमा उठ्न नपाउने भएका छन् ।
सन् २०१३ मा पहिलोपटक यस कान्डमा लालु दोषी पाइएका थिए र पाँच वर्षको जेल सजाय सुनाइएको थियो । (एजेन्सी)