सन्धिखर्कमा नगरपालिका स्तरीय रनिङ्गशिल्ड प्रतियोगिता शुरु

अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको  सन्धिखर्क नगरपालिकाको सहयोग र जिल्ला खेलकुद विकास समितिको आयोजनामा चौथो सन्धिखर्क नगरपालिका स्तरीय रनिङ्गशिल्ड प्रतियोगिता शुक्रबार देखि शुरु भएको छ ।
सन्धिखर्कको टुडिखेलमा भएको खेलको सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले बल फालेर उद्घाटन गरेका छन् । खेलको उद्घाटन गर्दै भुसालले सन्धिखर्क नगरपालिका भित्र उत्कृष्ट खेलाडी तयार पार्न प्रत्येक वर्ष रनिङ्गशिल्ड प्रतियोगिताको आयोजना गर्ने गरिएको बताए । उनले स्थानीय स्तरमा हुने यस खाले प्रतियोगिताले खेलाडीहरुको प्रतिभा उजार गर्ने बताए ।
‘स्थानीय स्तरमा हुने प्रतियोगिताकै माध्यमबाट खेलाडीहरु राष्ट्रिय स्तरका खेलमा भाग लिने गरेका छन्’ उनले भने, ‘यस खालका प्रतियोगिताहरु बेला मौकामा आयोजना गर्नुपर्छ ।’ उनले सन्धिखर्क नगरपालिकाले खेल क्षेत्रको विकासका लागि आवश्यक वजेट विनियोजन गर्ने तयारीमा रहेको बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी शंकर भुसालले खेलाडीहरुले खेल क्षेत्रकै माध्यमबाट देशको शिर उचो राख्ने गरेको भन्दै खेलाडीहरुलाई सम्मान गर्न कन्ज्युसाइ गर्न नहुने बताए । ‘नेपाली राष्ट्रिय खेलाडीहरुले विभिन्न अन्र्तराष्ट्रिय खेलहरुमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्’ उनले भने, ‘राज्यले खेल क्षेत्रलाई पनि विकासकै पूर्वाधारका रुपमा लिनुपर्छ ।’
जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउत क्षेत्रीले विद्यार्थीहरुले अध्ययनसँगै विभिन्न रचनात्मक गतिविधिमा सहभागी बन्नु पर्ने बताए । खेलमा सामुदायिक र संथागत गरि १८ विद्यालयले भाग लिएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिद्धिप्रसाद भुसालले जानकारी दिए । खेलमा १८ वर्ष भित्रका खेलाडीहरुलाई मात्र सहभागि गराइएको उनले बताए ।
सन्धिखर्क १ का वडा अध्यक्ष युवराज वञ्जाडे, गौरीशंकर वोर्डिङ्गका शिक्षक शिव बेल्वासेले मन्तव्य राख्दै खेललाई मर्यादित र अनुशासित ढंगले सञ्चालन गर्नु पर्नेमा जोड दिए । प्रतियोगितामा भलिवल, दौड, रिले दौड, हाईजम्प, लङजम्प, त्रिपलजम्प, सटपुट, ज्यावलिङ थ्रो, कपद्री खेल खेलाइने जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव जनकराज गैरेले जानकारी दिए ।
यसैबीच शुक्रबार देखि नै यहि २८ गते देखि सुरु हुने नवौं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताका लागि अन्य स्थानीय तहमा पनि छनोट तहका खेलहरु सञ्चालनमा आएका छन् । एउटा स्थानीय तहलाई एउटा इलाका मानेर खेलहरु सञ्चालनमा ल्याइएको छ । इलाका स्तरीय छनोट प्रतियोगिता ३ दिन चल्ने छ । इलाकाबाट प्रथम र द्वितिय स्थान हासिल गर्ने खेलाडी समुहहरु राष्ट्रपति रनिङ्गशिल्डका दावेदार मानिनेछन् ।