जलुकेको जुवाकोटमा पानी संकट, पानी चोरिने डरले कुवामा ताला

जलुके जुवाकोटको कुवामा पानीको दु:ख बताउँदै हुमकला छामिछाने ।
वीरेन्द्र केसी कान्तिपुर 
जलुके जुवाकोट, अर्घाखाँची । अग्लो बस्तीमा २२ घरको एउटा कुवा । थोपा खसेर संकलन भएको पानी सबै घरलाई एक गाग्री पनि पुग्दैन । त्यसैले पानी पुर्‍याउन ताला लगाइन्छ ।
बिहान ताला खोलिन्छ । गाउँलेबीच सबैका गाग्रीमा कुवाको पानी बाँडफाँड हुन्छ । एक परिवारले दैनिक ५ लिटर पानी पाउँछ र त्यसैले गुजारा चलाउँछन् । जलुकेको जुवाकोटमा पहिला ५० घर थिए । पानीकै दु:खले अहिले २२ घरमात्रै छन् । अरू सबै बसाइँ हिँडे । ‘पानी चोरिने डरले कुवामा ताला लगाएर जोगाउनुपर्छ,’ जुवाकोटकी हुमकला लामिछानेले भनिन्, ‘बिहान सबैले जति पुग्छ गाग्रीमा बाँड्छौं । त्यसपछि ताला लगाएर अर्काे दिन खोलिन्छ ।’ बर्सेनि पानीको दु:ख थपिँदै छ । दस वर्षअघि कुवा भरिन्थ्यो । केही वर्षदेखि पिँधमा मात्रै हुन थाल्यो ।
माथिका रूख काटिदिएपछि पानी सुकेको हो । कुवा छेउबाटै डोजर लगाएर मोटरबाटो खनियो । त्यसपछि पानी आधा घट्यो । गाई–भैंसीलाई खुवाउन डेढ घण्टा पैदल हिँडेर खोलादेखि ल्याउँछन् । ‘कहिलेकाहीं गाग्रीमा एक थोपा पानी हुँदैन,’ उनले भनिन्, ‘तिर्खा लागे पनि सहेरै बस्नुपर्छ ।’ पानीकै दु:खका कारण यो गाउँमा छोरी दिन धेरैले मान्दैनन् । १३ वर्षमै विवाह गरेर आएकी ५५ वर्षीया जीवा लामिछानेले अहिले पनि पानीको दु:ख झेल्दै आएकी छन् । पैसा हुने सबै बसाइँ सरे । गरिब मात्रै यहाँ बसेका छन् । यहाँ बस्ने एक घर दलित, एक घर क्षत्री र बीस घर मगरसहित एक सय तीन जनसंख्या छ । ‘पानीको साह्रै दु:ख छ,’ सावित्रा थापाले भनिन्, ‘पिउनलाई एक गाग्री कुवामा भए पनि भैंसीका लागि घण्टौं उकालोमा बोक्दा रोगी छु ।’
चिसोमा ढाड, कम्मर, घुँडा र छाती दुख्छ । बेलाबेलामा औषधि खाने उनले बताइन् । ‘पानी नै जीवन रहेछ,’ उनको बुझाइ छ, ‘पानीबिना बाँच्नै सकिँदैन ।’ बिहान उठेर घर नजिकैको कुवामा पुगेर आफ्नो भागमा परेको एक गाग्री पानीले खाना पकाउन र पिउन पुग्दैन । कुवामा ताला लगाएर नजिकैको घरमा राख्छन् । बिहान सबै जुटेपछि ताला खोलेर पानी बाँडिन्छ । वर्षामा कुवा भरिन्छ । तर, कात्तिकदेखि जेठसम्म दु:ख हुने गीता लामिछानेले बताइन् ।
‘दूध, मही खानका लागि जेनतेन एउटा भैंसी पालेका छौं,’ उनले भनिन्, ‘पेटभरि पानी खुवाउनै गाह्रो भयो । मान्छेले समेत अड्कलेर निर्बाह गरेका छौं ।’ मुहान माथि ठूलो एउटा फँडेलको रूख थियो त्यो हुँदा दुई/दुई गाग्री पुग्थ्यो तर जग्गाधनीले काटिदिएपछि आधा घटेको उनको अनुभव छ । शीतगंगा नगरपालिका ७ का वडाध्यक्ष मोहन पन्थीले लिफ्ट प्रविधिबाट खोलाको पानी तान्ने योजना रहेको सुनाए ।