वीरेन्द्र केसी कान्तिपुर
सुपादेउराली, अर्घाखाँची । कपिलवस्तुकी दिलमाया केसी माइत गइन् । बाबुआमा र दाजुभाउजूले टीका लगाइदिए र दक्षिणा दिए । त्यसपछि दुई छोरा लिएर अर्घाखाँचीको सुपादेउराली मन्दिरमा दर्शन गर्न आइन् । तीन घण्टा लाइन लागेर मन्दिरमा दर्शन गरिन् । त्यसपछि नरपानी आएर घुमेर फर्किइन् ।
‘नयाँ वर्ष त पर्व नै भयो,’ उनले भनिन्, ‘इष्टमित्र, साथीभाइ र नातेदार भेटघाट हुने, मिठो खानेकुरा खाने, राम्रो लगाउने र नयाँ ठाउँ घुम्ने ।’ अघिल्लो वर्ष उनी लुम्बिनी घुमेकी थिइन । अर्काे वर्ष कुनै नयाँ ठाउँ जानुपर्ला उनले भनिन । ‘दसैमा जस्तै माइतीघरमा सबै इष्टमित्र जुटेका थिए,’ उनले भनिन, ‘टीका लगाउने, आर्दिवाद लिने/दिने र खुसीयाली बाँडियो । जे होस नयाँ वर्षमा आफन्त भेटघाट हुने दिन बन्यो ।’
धार्मिक पर्यटकीय स्थल सुपादेउरालीमा दर्शन गरेर नयाँ वर्ष मनाउनेको ठुलो संख्यामा भीड लाग्यो । विहानै देखि बेलुकासम्म दर्शनार्थीको घुँइचो लाग्यो । दाङबाट सुनील खड्का आमा, श्रीमती र दुई छोरी सहित चार जना साथी लिएर देउरालीमा आए ।
बिहान दश बजे आइपुगेका उनीहरू एक बजे मात्रै मन्दिर भित्र पसेर दर्शन गर्न पाए । आमाको हातबाट टीका लगाएर आएका उनीहरू मन्दिरमा पनि टीका लगाए । ‘नयाँ वर्षमा मिठो खाने, नयाँ ठाउँ घुम्ने ठूलाबाट आशीर्वाद लिने काम हुन्छ,’ उनले भने, ‘मनको इच्छा पुरा हुन्छ भन्ने विश्वास छ । त्यसैले मन्दिरमा दर्शन गर्न आएको हुँ । रमाइलो लाग्यो ।’
उनले बिहानै फेसबुकमा पनि सबैलाई सुभकामना पोष्ट गरेका थिए । मनको इच्छा पुरा हुने धार्मिक विश्वासले केही वर्ष देखि नयाँ वर्षको सुरुवातको दिन टाढाटाढाबाट सुपादेउरालीमा दर्शन गर्न आउँछन । मन्दिरमा बलि चढाउने र नरपानीमा आएर प्रसाद ग्रहण गर्ने, घुम्ने र रमाइलो गर्नेको भीडभाड छ । अरुबेला पनि मन्दिरमा भीड नै हुन्छ । तर, लाइन धेरै बेर बस्नु पर्दैन । नयाँ वर्षको दिन करिब दुई किलोमिटरसम्मको लाइन थियो ।
‘मन्दिरमा भाकल सहित घुम्न र नरपानीमा रमाउन गाडी रिर्जव गरेर आएका हौं,’ अविश्वर आचार्यले भने, ‘मैले तीन वर्ष देखि नयाँ वर्षको दिन छोरी ज्वाइँ, भाञ्जाभाञ्जी र दिदि बहिनी बोलाउँछु । घरमा मिठा खानेकुराका परिकार पाक्छन । खसीको मासु पाक्छ । अनि दिउसो मनोरञ्जन गर्ने ठाउँमा सबै परिवार जान्छौं ।’ रमाइलो ठाउँमा घुम्ने र तस्बिर खिच्ने काम हुन्छ । सुपादेउराली मन्दिर र नरपानीका सुन्दर दृश्यका मोवाइल र क्यामराले खिचेका तस्बिर फेसबुकमा राखेको उनले बताए । सुपादेउराली मन्दिरमा पुगेपछि मनले चिताएको र आँटेको काम पुरा हुन्छ भन्ने सुनेकाले वर्षदिनभर मेरो परिवार खुसी, शान्ति, सुस्वास्थ्य र दीर्घायु होस र हामीले गरेका काम सफलतापुर्वक सम्पन्न होऊन् भन्ने कामनाको लागि मन्दिरमा दर्शन गर्न आएको उनले बताए । सन्धिखर्क–गोरुसिंगे सडकको छेउमै पर्ने भएकाले धेरै तीर्थालु आउँछन् ।
अघिल्लो वर्षभन्दा अहिले झन्डै दोब्बर तीर्थालु आएका छन । आएका भक्तजनलाई व्यवस्थित गर्न मन्दिर व्यवस्थापन समितिले ५० जना स्वयंसेवक परिचालन गरेको छ । ३० जना प्रहरी छन । दिनभर दर्शकको ताँती थियो । मन्दिरमा दर्शन गर्ने भक्तजनले फूलपाती र गच्छेअनुसार भेटी चढाउँछन् । अघिल्लो वर्ष एक लाख २० हजार रुपैयाँ भेटी संकलन भएको थियो । दस हजार भन्दा बढी भत्तजन आएका थिए । अहिले करिब तीस हजार तीर्थालु आएको समितिका अध्यक्ष प्रितम थापाले बताए ।
भीड बढी भएर व्यवस्थित गर्न अहिले सकस नै परेको थियो । मनको इच्छा पुरा हुने धार्मिक विश्वासले बर्सेनि नयाँ वर्षमा आउने भक्तजनको संख्या दोब्बरले वृद्धि भएको सचिव यादव घिमिरेले बताए । सुपादेराली मन्दिरमा दर्शन पछि धेरै फर्किहाल्छन । केही नरपानी आएर घुम्छन । अरुबेला पनि दैनिक सरदरमा एक सय जना जति दर्शन गर्न आउने उनले बताए । यस क्षेत्रमा पर्यटकीय संरचना बनाएर पर्यटकीय स्थलको रुपमा विकास गर्न दीर्घकालिन योजना बनाउने घिमिरेले बताए । मन्दिरको भेटिले खाँचीकोट र सीतापुरका दुई मावि सञ्चालन भएका छन् ।