सन्धिखर्कको साक्षात्कार कार्यक्रममा शर्माले भने भाषण होइन, काम गरेर देखाउनुपर्छ

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची ।  जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्माले राजनीति क्रान्ति र अधिकारको आन्दोलन सकिएकाले अब आर्थिक क्रान्ति गरेर मुलुकलाई सम्बृद्ध पार्ने बेला आएका बताएका छन । उनले सरकार, सांसद र जनप्रतिनिधि एकजुट भएर जिल्ला र गाउँको विकास गरेर देखाउनुपर्ने बताए । 
रिपोर्टर्स क्लवले सन्धिखर्कमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै शर्माले विकास योजनाको बजेटमा पारदर्शी गरेर जनप्रतिनिधिले काम गर्नुपर्ने बताए  । अब भाषण गरेर मात्रै सम्बृद्धि हु“दैन, काम गरेर देखाउनुपर्छ, उनले भने । अहिलेको सरकारलाई काम गरेर देखाउने ठुलो अवसर भएको भन्दै सरकार भत्काउने र बनाउने समस्या छैन, त्यसैले सम्बृद्धिको अभियानमा भाषण भन्दा पनि गरेर देखाउनुपर्ने उनले बताए । 
जिल्ला न्यायाधीश रामचन्द्र पौडेलले स्वतन्त्रता सहितको विकास र सम्बृद्धिले मात्रै देस विकसित राष्ट्र बन्ने बताए । उनले कानुनको पालना सबैले गरेर विकासका गतिविधि अगाडी बढाउनुपर्ने बताए ।  
सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले कृषि, पशुपालन, उत्पादनबाट नगरलाई सम्बृद्ध पार्न योजनाबद्ध रुपमा लागि परेको बताए । नगर उपप्रमुख ठाकुर विकले पूर्वाधार विकास, कृषि, पर्यटन, उद्यमशील तालिम र विकासका काम गरेर नमुना नगर बनाउने काम भैरहेको बताए । एमाले जिल्ला सचिव रामबहादुर चौहानले जिल्ला पशु, कृषि र उत्पादनमा संभावनाको खानी नै भएकाले यसलाई जनप्रतिनिधिले उपयोग गरेर काम गर्नुपर्ने बताए । 
कार्यक्रममा प्रहरी नायव उपरीक्षक एकनारायण कोइराला, सहप्रध्यापक मञ्जु घिमिरे, अन्तर पाटी महिला सञ्जालकी अध्यक्ष शुसिला गैरे, कान्तिपुर दैनिकका उपसम्पादक वीरेन्द्र केसी, पत्रकार महासंघका अध्यक्ष हिम लेकाली लगायतले सम्बृद्धिको अभियानमा सबै सक्रिय भएर लाग्नुपर्ने बताए । 
कार्यक्रम क्लवका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र गणेश खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।