दक्षिण कोरिया र उत्तर कोरियाका नेताहरुको शिखर बैठक शुक्रबार भएको छ ।
बैठकमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसहितका दुवै देशका नेताहरुले एकापसमा पटक-पटक भेटवार्ता गर्ने र सम्बन्धलाई थप मजबुद् बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ‘ब्लु हाउस’का उच्च अधिकारीहरुले दिएको जानकारीअनुसार दुवै नेताहरुले कोठाभित्र नजिकबाट औपचारिक वार्ता गरेका छन् ।
उनीहरुकाबीचमा दक्षिण कोरियाको पान्मुन्जोममा रहेको ‘पिस हाउस’मा शुक्रबार बिहानै झन्डै डेढ घन्टा वार्ता भएको थियो ।
सन् १९५० देखि ५३ सम्म भएको कोरिया युद्धपछि विभाजित भएका दुई कोरियाको सीमा क्षेत्रमा वार्ता भएको हो ।
औपचारिक वार्ताअगाडि किमलाई मुनले सैन्य प्रदर्शनीअगाडि अभिवादनसहित भव्य स्वागत गरेका थिए ।
उनीहरुको ऐतिहासिक शिखर बैठकअन्तर्गत् पहिलो चरणको वार्ता सम्पन्न भएपछि खानाको समय छुट्याइएको थियो । खाना खाएपछि फेरि भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।
सन् १९५३ मा कोरियाली युद्ध सकिएपछि पहिलोपटक उत्तर कोरियाका नेता दक्षिण कोरिया गएका हुन् ।
स्थानीय समयानुसार शुक्रबार बिहान ९ः३० बजेतिर दक्षिण कोरियाली भूमिमा उत्तर कोरियाली नेता किम पुगेका थिए ।
बैठकस्थलमा प्रवेश गरेपछि आगन्तुक पुस्तिकामा उनले ‘शान्तिपूर्ण युगको प्रारम्भको विन्दुमा एउटा नयाँ इतिहास सुरू भएको छ’ भनेर लेखेका छन् ।
दुई कोरियाका नेताको वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किमबीच पनि भेटवार्ता हुने कार्यक्रम रहेको छ ।
अहिलेको शिखर बैठकले नै ट्रम्प र किमको शिखर बैठक के–कस्तो हुनेछ भन्ने संकेत गर्नेछ ।
ट्रम्प र किमको शिखर बैठकअगाडि दक्षिण कोरियाका राष्ट्रपति मुनले ट्रम्पलाई भेटेर दुई कोरियाको शिखर बैठककाबारेमा बताउँदै ट्रम्प–किम वार्ताका लागि सहजीकरण गरिदिनेछन् ।
ट्रम्प र किमको भेटवार्ता हुनुभन्दाअगाडि मे महिनाको मध्यतिर मुनले ट्रम्पलाई भेट्ने तयारी गरेको जनाइएको छ ।
दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसका एकजना उच्च अधिकारीले नाम नबताउने सर्तमा दिएको जानकारीअनुसार मुनको अमेरिका भ्रमण निश्चित भएपनि मिति भने एकिन भइसकेको छैन ।
ट्रम्प र किमको भेटवार्ता मे महिनाको अन्त्यतिर वा जुन महिनाको सुरुतिर हुनसक्ने बताइएको छ । रासस/सिन्ह्वा