छत्रदेव गाउँपालिका जनप्रतिनिधिहरुलाई अमेरिकाबाट चिठ्ठी: विकासका लागी शिक्षामा हेरफेर गर्नुहोस

सम्पुर्ण छत्रदेवबासी अामाबुवा, दाजुभाइ, दिदिबहिनी तथा सम्पुर्ण जनप्रतिनिधिहरूमा नमस्कार एवं सम्झना सर्वप्रथम त म मेराे केहि कुराहरू राख्नुभन्दा पहिला थाेरै इतिहास काेट्याउन चाहान्छु किनकि इतिहासकाे महत्व बेग्लै हुन्छ। साविकका केहि गाविसहरूलाइ समायाेजन गरी बनेकाे छात्रदेव गाउँपालिका राजनीतिक दृष्टीकाेणले अर्घाखाँचीको महत्व बोकेको ठाँउ हाे।
 अर्घाखाँचीको पुर्बी भेग भनेपछि बिकाशको हिसाबले पनि अघिनै थियो | जब माअाेबादी युद्ध सुरु भयो त्यसपछी बिकाशका मुहानहरु पनि बन्ध हुन पुगे। बिकाश नभएका पक्कै होइनन, राम्रा कामका थालनी पनि अवश्य भएका छन् । यसमा सबैले राजनीति भन्दा माथि उठेर सहयोग र साथ दिनुपर्छ किनकि भोलि बिकाश भयो भने फाइदा हामी सबैलाइ हुने हाे |
म पनि त्यही ठाउँमा जन्मिएको, शिक्षा हासिल गरेको हुनाले संसारको जुनसुकै ठाउँमा भएपनि यो ठाउँको बिकाश होस्, प्रविधिमा फड्को मारोस, शिक्षामा नयाँ अध्याय शुरु होस् भन्ने हेतुले आफुले देखेका, भोगेका र जानेका कुराहरु छात्रदेव गाउपालिकाका सम्पूर्ण पधादिकरिहरुलाई राख्ने जमर्को गर्दैछु, यी मेरा २/४ शब्दहरुलाई एकपटक पढ्ने जमर्को गर्नुहुनेछ भन्ने विश्वास लिएकाे छु । 
– खरको छाना मुक्त गाउँपालिका बनाउनु भयो । यसको लागि धेरै धेरै धन्यबाद दिन चाहान्छु तर एउटा कुरा नि, टिनको जस्ता पाता भएर मात्र त्याे गरिबको घरमा टिन टलक्क टल्किदैन होला, खरलाई मिल्काएर जस्ता पाता राख्ने खर्च कसरि जुटाउदै छन् ति गरिबहरुले ? त्यतातिर पनि ध्यान दिनुहोला | टिनले खरलाई फ्याक्दैमा मात्र गाउँको मुहार फेरिने हैन जस्तो लाग्छ | कुनैपनि गाउलाई बिकाशको रफ्तारमा अगाडी बढाउने हो भने पहिला त्याे गाउँको शिक्षामा हेरफेर गर्नुपर्छ । शिक्षा भएर मात्र हुदैन, त्याे समय अनुसारको शिक्षा हुनु पर्दछ। गुणस्तरीय शिक्षा दिने नै हाे भने राजनैतिक नियुक्ति भएका शिक्षकहरु बर्खास्त गर्नुहोस चाहे त्याे मास्टर डिग्री होल्डर नै किन नहोस।
-अंग्रेजी माध्यममा पठनपाठन सुरुवात हुँदै छ भन्दा म मात्रै हाेइन, सबै छत्रदेवबासीहरू हर्षित भएका छन । हर्षसँगै म जस्ता धेरै साथीहरुलाई दुखि पनि बनाएकाे छ , किनकि हजुरहरु दिर्घकालिन योजनामा हुनुहुन्न जस्तो लाग्याे। यदि अंग्रेजी माध्यममा पठनपाठन सुरुवात गर्ने नै हो भने अहिले ५ कक्षा सम्म किन गर्न सक्नु हुन्न? यसमा के जटिलता छ? फेरी एउटा शिक्षकले ३० वर्षदेखि लगातार पढाईरहनु भएको छ । के तपाइहरूलाइ उहाँहरुबाट अहिलेको पढाई सम्भब छ जस्तो लाग्छ ? यो ३० बर्षको अन्तरहालमा कति बिषय र त्याे बिषय भित्रका कुराहरु परिवर्तन भए ? के उहाँहरू अपडेट हुनुहुन्छ ? मलाई लाग्छ यो कुरालाई बहसको रुपमा चलाऊनुहोस । यदि तपाइहरुले छत्रदेव गाउँपालिकामा अबको ५ वर्ष भित्र यो कुरालाई कार्यान्वयन गरेर जानुभयो भने भोलिका दिनमा अहिलेका बालबालिकाले तपाइहरुलाई आफ्नो जिबनभर सम्झने छन् र एउटा अविष्मरणिय इतिहास बन्ने छ । 
मलाई थाहा भएसम्म छात्रदेव गाउँपालिका भित्र ३८ विध्यालय र करिब ११४ जना शिक्षक-शिक्षिका हुनुहुन्छ। के उहाँहरु आफ्नो छोरा-छोरी लाई आफुले पढाउने बिद्यालयमा राख्नु भएको छ ? कि बाेर्डिङ स्कूलमा? अाफुले पढाउने विद्यालयकाे शिक्षामै विश्वास नगर्ने शिक्षकले राम्रो पढ़ाउनु हुन्छ भनेर अाम जनताले कसरी विश्वास गर्ने? मलाई लाग्छ करिब करिब १०० भन्दा बढी शिक्षकहरुको बच्चाहरू बाेर्डिङ स्कूलमा भर्ना गरिएका छन् । आफुले हाेटल संचालन गर्ने अनि आफैले आफ्नै हाेटलको खाना नखाने भयाे भने अरूले के बुझ्ने ? त्यसैगरि आफैले शिक्षाकाे ज्योति दिने ठाँउमा आफ्नै सन्ततिलाई भर्ना गर्न्नुहुन्नभने त्यहाँबाट के संदेश जान्छ? हामी आफैले आफैबाट सुधारका सुत्रहरु लागु गर्दैनौ भने त्यहाँ केहि हुनेवाला छैन | सवाल शिक्षकहरूकाे मात्र हाेइन । गाउँपालिकाका कुल जनप्रतिनिधिहरूमध्ये कति जनाका छाेराछाेरीले सरकारी स्कुलमा पढ्छन ? कुरा अङग्रेजी माध्यमका, सुधारका कुरा गर्ने तर अाफ्नै छाेराछाेरी महङगाे निजी स्कूलमा पढाउदा कस्ताे सन्देश जान्छ ? यसरी नमुना गाउँपालिका कसरी बन्ला?
यदि छत्रदेव गाउँपालिकालाइ देशको नमुना गाउँपालिका बनाउने अन्तरमन देशिकै दृढता हाे भने निम्न कुरामा ध्यान दिदाँ राम्राे हाेला भन्ने मेराे बुझाइ छ :
१. अवकाश पुरा गरेका शिक्षक शिक्षिकाहरूलाइ बिदा दिनुहोस र युवा शिक्षकहरु नियम अनुसार राख्नुहाेस । 
२. स्कूलमा पढाउने शिक्षकहरु सबैले आफ्नो छोरा छोरीलाई बाेर्डङ स्कूलमा भर्ना गर्न नपाउने नियम लागु गर्नुहाेस |
३. स्कूलमा पढाउने कुनै पनि शिक्षकले बाहिर बाेर्डिङ स्कूलमा राख्न नपाउने र राखेकाे शेयर जफत हुने नियम ल्याउनुहाेस । 
४. कक्षा १ देखि नै कम्प्युटर बिषय अनिबार्य बनाउनुहाेस किन कि समय अनुसारको पढाइ हुनु जरुरी छ ।
५. स्कूलको ब्यबस्थापन समितिको अध्यक्ष राजनीतिक सहमतिमा नबनाइयाेस । जो सक्षम छ उही होस ।
६. स्कूल परिधि भित्र कुनै पनि राजनीतिक गोस्टी नहोस । 
७. स्कूलमा पढाउने शिक्षकहरु राष्ट्रका गहना हुन्। उनीहरुलाई कुनैपनि पार्टीमा भर्ना हुनबाट बन्चित गरियोस|
८. त्यसै गरी कतिपय शिक्षक शिक्षिकाले नक्कली प्रमाणपत्र पेश गरी पढाइरहेकाे जनगुनासाे पनि सुनिन्छ । यदि याे सत्य हाे भने छानविन गरी तत्काल हटाइ याेग्य शिक्षक राख्दा राम्राे हाेला ।
यति सानो सानो कुराहरु जुन तपाई हामी आफै सुधार गर्न सक्छौ तर हामी गाउँमा बसेर राजनीतिको भाषण गर्दै हिड्छौ तर आफ़्न्नो बच्चा शहरको महँगो स्कूलमा सकीनसकी अरुको सिकाे गर्दै भर्ना गर्छौ । देश बनाउने नेताले मात्र हैन यसमा जनताको पनि उत्तिकै भूमिका हुन् । के छत्रदेवबका निर्बाचित पदाधिकारीहरुले यसलाई आत्मसात गर्न सक्नुहुन्छ?
सक्नुहुन्छ भने आउनुहोस बहस गराै । मैले अाफ्नो व्यक्तिगत तर्फबाट बर्षको कतिदिन सेवा गर्नु पर्ने हो गर्छु| हाम्रो गाँउ हामी आफै मिलेर बनाउने हो । गाउँपलिकाको अध्यक्षले मात्र गाउँको नमुना फेर्ने हैन । हामी सबै जुटेर लाग्याै भने यो सम्भब पनि छ| याद गर्नुहोस, जबसम्म गाउँका गरीबहरुको दिमागमा शिक्षाको अर्थ छिराउन सकिदैन तबसम्म हाम्रो गाउँ कहिले पनि हराभरा हुनै सक्दै । जब मानिसले शिक्षाको परिभाषा बुझ्दछ तब हाम्रो समाज हरेक क्षेत्रमा अघि बढ्नेछ । यसकाे लागि गाउँमा भएका कुकृतिहरू निर्मुल पार्दै, आपसमा मिली, यो पार्टी र त्याे पार्टी नभनी, हरेक योजनालाई बहसमा लगी सबैको राम्रा सुझाबलाई समेटी छत्रदेव गाउँपालिकालाइ शिक्षाकाे क्षेत्रमा अगाडी बढाऊँ । कुनै पनि क्षेत्रमा किन नहोस् यदि कुनै पदमा मान्छे आसिन भएर त्यस पदको गरीमालाई जोगाउने उद्देश्य राख्दैन भने त्यो पद नै उसका लागि प्रकारान्तरमा प्रत्युत्पादक हुन सक्छ । जसरी एउटा कलाकारले राष्ट्रलाई कलाको माध्यमबाट राष्ट्रलाई दिशानिर्देश गरिरहेको हुन्छ र एउटा पत्रकार, लेखकले आफ्नो कलमले राष्ट्र र समाजलाई दिशानिर्देश गरेको हुन्छ । त्यस्तै एउटा नेताले राष्ट्रको दिशालाई निर्धारण गरेर राष्ट्रको गरीमा र साखलाई बचाइराख्ने गहन जिम्मेवारी लिएको हुन्छ । यसका लागि आफ्ना वरिपरि घुमिरहने चाटुकारहरूको क्रन्दन र भक्तिभावबाट माथि उठेर समग्र राष्ट्र र समाजको हितको पक्षमा निर्णय लिन सक्ने र त्यागको राजनीति गर्न सक्ने क्षमतावान् नेतृत्वको खाँचो टड्कारो रूपमा महसुस हुँदैछ ।
– कमल पोख्रेल
छत्रदेव ५ अर्घाखाँची,  हाल अमेरिका