सुर्य भुसाल
बलकोट, अर्घाखाँची । जिल्ला स्वास्थ्य कार्यालय, अर्घाखाँची अन्तर्गत निशुल्क स्वास्थ्यसेवा अनुगमन समितिको संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसालको संयोजकत्वमा छत्रदेव गाउँ पालिका २ मा रहेको बलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा आज अनुगमन सम्पन्न भएको छ ।
जिल्लामा रहेका स्वास्थ्यचौकी तथा प्राथमिक स्वास्थ्यचौकीको अवस्थाबारे जानकारी लिने र त्यस संस्थाका सुधार गर्नुपर्ने पक्षहरूबारे जानकारी लिने उद्देश्यले यस समितिले बेलाबेला अनुगमन गर्दै आएको छ ।
अनुगमनको क्रममा समितिका प्रमुख पिताम्बर शर्माले सबल पक्षहरूको बारे प्रशन्सा गर्दै सुधार गर्नुपर्ने पक्षहरू बारे औल्याउनुभयो । विषयवस्तुमा प्रकाश पार्दै जिल्ला स्वास्थ्य कार्यालय अनुगमन समितिका संयोजक गणेशराज पौडेलले स्वास्थ्यस्थितिबारे जानकारी लिनुभयो ।
राज्यले जनतालाई ७० प्रकारका औषधि निशुल्क वितरण गर्ने भनेपनि पछिल्लोपटक जिल्लाका स्वास्थ्यसन्स्थाहरूमा अत्यावश्यक औषधिको अभाव खट्किएको बताइन्छ । औषधिको अभावको कारणबारे बलकोट प्राथमिक स्वास्थ्य संस्था व्यवस्थापन समिति अध्यक्ष छत्रदेव २ का वडाअध्यक्ष राजेश कुमार पन्थीले गाउँपालिकालाई स्वास्थ्य क्षेत्रको जिम्मा प्रदान गरिएपछी प्रयाप्त औषधि खरिदका लागि बजेट नहुदा समस्या परेको बताउनुभयो ।
दैनिक ५० भन्दा बढीले सेवा प्राप्त गरिरहेको स्वास्थ्यकेन्द्रमा आकस्मिक सेवासमेत सन्चालन गर्न सके छत्रदेव गाउपालिका स्वास्थ्यक्षेत्रमा अब्बल हुने डा. सागर पोख्रेलले बताउनुभयो ।
अनुगमनमा डा. अर्पण पोख्रेल, डा. प्रकाश भट्टराई, नेपाली काङ्ग्रेसका जिल्ला सचिव विष्णुप्रसाद भुसाल, छत्रदेव वडा नम्बर २ का सदस्य तोमलाल रिजाल र नेपाल पत्रकार महासङघका अध्यक्ष तथा अनुगमन समितिका सदस्य हिम लेकालीको समेत उपस्थिती रहेको थियो ।