सन्धिखर्क वार्ड नं १ का अध्यक्ष बन्जाडेले सेवा- सुविधाको पैसाले शौचालय व्यवस्थित गरे (तस्बिर सहित)
जेष्ठ ३ गते, २०७५ मा प्रकाशित
प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं १ का अध्यक्ष युबराज बन्जाडेले आफुले पाउने सेवा- सुविधाको पैसा खर्च गरेर शान्तीबगैचामा रहेको सार्वजनिक शौचालयलाई व्यवस्थित गरेका छन् ।
वार्ड अध्यक्ष युबराज बन्जाडेले आफुले पाउने सेवा- सुविधाको पैसा खर्च गरेर शान्तीबगैचामा रहेको सार्वजनिक शौचालयमा खानेपानीले काटेको पानी जडान गरी बाल्टी, जगहरु लगायतका सामाग्री उपलब्ध गराएका हुन् ।
बन्जाडेले पानी जडान गर्न लाग्ने सम्पूर्ण खर्च तिरेर शौचालयमा पानी नियमित गरेका थिए । शान्तीबगैचामा रहेको सार्वजनिक शौचालयमा जिल्लाका विभिन्न भेगबाट आउने तथा जिल्ला भित्र बाहिर आवतजावत गर्ने सयौ मानिसहरुले दैनिक प्रयोग गर्दै आएका छन् ।
वार्ड अध्यक्ष युबराज बन्जाडेले यस अगाडि पनि यस क्षेत्रका सामाजिक कार्यमा नियमित सहयोग गर्दै आएको देखिन्छ ।