सन्धिखर्कको शान्तीबगैंचा चोकमा पार्टी एकीकरणको खुशियालीमा नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताद्दारा द्विप प्रज्वलन (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क स्थित शान्ती बगैंचा चोकमा नेकपा एमाले र माओवादी केन्द्र बिच भएको पार्टी एकीकरणको खुशियालीमा नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले द्विप प्रज्वलन गरेका छन् । 
शान्ती बगैंचा चोकमा दर्जनौ नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले द्विप प्रज्वलन गरेका हुन् । 
सो अवसरमा राष्ट्रिय सभाका सदस्य तथा चन्द्रबहादुर खड्का उज्वलले मुलुकमा नयाँ युगको थालनी भएको बताए । 
नेकपा एमाले र माओवादी केन्द्र एक भएसँगै नेपालमा अहिलेसम्मकै विशाल कम्युनिष्ट पार्टीको स्थापना भएको छ।
बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकबाट दुवै पार्टी विघटन गरी ‘नेपाल कम्युनिष्ट पार्टी’ पुनर्गठन घोषणा गरिएको हो ।
योसँगै नेपाली कम्युनिष्ट आन्दोलनको ७० वर्षे इतिहासमा पहिलोपटक विशाल कम्युनिष्ट पार्टी बनेको छ ।
नवगठित नेपाल कम्युनिष्ट पार्टीको अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल रहेका छन् ।
दुवै अध्यक्षले बालुवाटारमै एक–अर्कालाई शपथग्रहण गराए भने त्यसलगत्तै दुवैजनाले नयाँ पार्टीमा समेटिएका केन्द्रीय सदस्यहरुलाई सामूहिकरुपमा शपथ गराए ।
नवगठित पार्टीमा ९ जनाको सचिवालय बनाइएको छ । जसमा केपी शर्मा ओली, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल रहेका छन् ।
सचिवालयको महासचिवमा विष्णु पौडेल र प्रवक्तामा नारायणकाजी श्रेष्ठलाई तोकिएको छ ।
नयाँ पार्टी दर्ता गर्नका लागि बिहीबारै निर्वाचन आयोगमा निवेदन दिइएको छ ।
त्यसपछि राष्ट्रिय सभागृहबाट पार्टी एकताको औपचारिक घोषणा गरिएको हो ।
नयाँ पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’मा ४४१ जना केन्द्रीय सदस्य रहेका छन् । जसमध्ये २४१ जना एमालेबाट र २०० जना माओवादी केन्द्रबाट रहेका छन् ।
त्यसैगरी, एमालेबाट २६ र माओवादीबाट १९ जना गरी ४५ सदस्यीय स्थायी समिति पनि बनाइएको छ । केन्द्रीय कमिटीमा माओवादीले ४५ प्रतिशत भाग पाएको छ । पोलिटब्यूरो भने तत्काल बन्ने छैन ।
नवगठित पार्टीको चुनाव चिह्न सूर्य हुनेछ । पार्टीको निर्देशक सिद्धान्त ‘मार्क्सवाद–लेलिनवाद’ हुने जनाइएको छ ।
‘जनताको जनवाद’लाई कार्यनीति मान्दै ‘समाजवादउन्मुख समावेशी लोकतन्त्र’लाई संस्थागत गरिने बताइएको छ ।
दुई वर्षपछि एकता महाधिवेशन गर्ने सहमति गरिएको छ ।