छत्रगन्जको मढेलचौरका युवा राहदानी च्यातेर बाख्रापालनमा, वर्षमा ३ लाख रुपैयाँ बचत

मढेलचौरका व्यावसायिक बाख्रा पालक किसान कृष्णप्रसाद भुसाल ।  
वीरेन्द्र केसी कान्तिपुर
छत्रगन्ज, अर्घाखाँची ।  सँगै पढेका दौंतरी अधिकांश रोजगारीमा विदेशिए । साथीभाइले विदेशको लोभ देखाएपछि छत्रदेव गाउँपालिका मढेलचौरका कृष्णप्रसाद भुसालले पनि ०६० सालमा मलेसिया जाने सोचले राहदानी बनाए । साथीले भिसा पठाइदिने आसमा ८ वर्ष कुरे ।
६ वर्ष भारतमा नोकरीसमेत गरे तर पनि मलेसिया उड्ने साइत जुरेन । ०६८ मा घर फर्किए । विदेश गएका छिमेकीले उनलाई धेरै लोभ देखाए । भारतमा ६ वर्षको अनुभवले विदेश जाने उनको मन मरिसकेको थियो । घर फर्केको केही दिनपछि उनले बाख्रा पाल्ने सोच बनाए ।
त्यही सोचलाई मूर्त रूप दिँदै ५ लाख लगानीमा उनले बाख्रा पाल्न थाले । ‘बाख्रा खोरमा हालेपछि राहदानी च्यातिदिएँ,’ उनले भने, ‘भिसा पठाइदिन्छौं धेरैले भने तर मैले रादहानी च्यातेर वैदेशिक रोजगारको मोह त्यागेर बाख्रा पाल्न थालेको भन्दा धेरैको गालीसमेत पाइयो । मेरो पूरै ध्यान भने व्यावसायिक बाख्रा पालनमै थियो ।’ जमुनापारी र खरी जातको बाख्राबाट बोका उत्पादन राम्रो भएको उनी बताउँछन् । यसका लागि उन्नत जातका बोका जिल्ला बाहिरबाट ल्याएँ । बोकाबाट आम्दानी राम्रो हुन थालेपछि मन हर्षित बनको उनी अझै भन्दै छन् ।
प्रमाणपत्र तह उत्तीर्ण भुसालले ३० वटा बाख्रा पालेका छन् । ‘रादहानी च्यातेर माटोमा गाडेको मैले बाख्रा पालनसँगै भविष्य देख्न थालियो,’ उनले भने, ‘अहिले त मलाई मलेसिया होइन, अमेरिका, जापान यहीं छ । बाख्रा पाल्छु । बोका बेच्छु ।’ भारतमा पनि ६ वर्ष बस्दा दिक्क लागेको थियो । सोचेजस्तो भएन । आफ्नै गाउँमा केही गर्न सके विदेशमा भन्दा धेरै राम्रो कमाइ हुने उनी बताउँछन् ।
बाख्रा पाल्नु नौलो होइन । उनको घरमा पुस्तौंदेखि पालिँदै आएका छन् । उतिबेला खेतबारीमा मल राखे अन्न धेरै राम्रो फल्ने आशाले बाख्रा पालिने चलन थियो । अब भने आम्दानीका लागि पालिन्छ । उनले बाख्रापालन थालेपछि गाउँलेले पनि देखासिकी गरेर व्यावसायिक रूप दिन थालेको छन् । बोका बेचेर उनले वर्षमा ३ लाख रुपैयाँ बचत गरेका छन् । ३० वर्षीय भुसालले बाख्राले के खान्छ, कसरी छिटो सन्तान उत्पादन गर्छ र धेरै पाठापाठी जन्माउँछ भन्नेमै ध्यान दिएका छन् । उनी खसी बनाउँदैनन् । बोकाको तौल बढाउने उपाय, रोग लाग्नबाट बचाउन औषधि उपचार, खानपिन र स्याहारसुसारमै बढी ध्यान दिन्छन् । वर्ष दिनअघि बाख्रा पाल्न थप प्रेरणा दिन किसानका लागि उन्नत बीउबिजन कार्यक्रम (केयूबीके) ले कार्यक्रम भित्राएपछि उनलाई थप हौसला थपियो ।
सरकारले अष्ट्रियाबाट बोयर बोका ल्याएर तनहुँ बन्दीपुरमा परीक्षण गर्‍यो । त्यहाँ सफल भएपछि मढेलचौरमा बोयर बोका भित्रिए । मढेलचौर बाख्रापालन कृषक समूह गठन गरियो । समूहमा १ सय २५ कृषकले १२ सय बाख्रा पालेका छन् । समूहलाई केयूबीकेले १७ बोका दिएको छ । बोयर बीउबाट जन्मने पाठापाठीका तौल धेरै हुने र छिटो हुर्किन्छन् । बोयर बोका स्थानीय जातका बाख्रामा लगाउँदा जन्मिँदै ४ देखि ७ किलोसम्मका हुन्छन् ।
मढेलचौरकी पवित्रा पाण्डेले १५ वटा बाख्रा पालेकी छन् । चारवटा बोयर बोकाको बीउबाट जन्मिएका पठा छन् । उन्नत जातका बाख्रा पाल्दा वर्षमा डेढ लाखसम्म कमाइ हुने उनले बताइन् । अब बोयर बोकाबाट जन्मिएका बोका बेच्दा आम्दानी तेब्बर होला भन्ने उनको आशा छ । उनका श्रीमान् भीमलालले छोराछोरीको पढाइ र घरखर्चका लागि भारतमा नोकरी गर्थे । घरमा श्रीमतीले बाख्रा पालन थालेपछि भीमलाल फर्किर यही व्यवसायमा सघाउन थालेका छन् । ‘जति बोका उत्पादन गरे पनि पुर्‍याउनै सकिँदैन,’ पवित्राले भनिन्, ‘दु:ख गर्नु आफ्नै ठाउँमा । बूढाबूढी मिलेरै बोकाको तौल बढाउने र बाख्रालाई छिटो–छिटो व्याउन स्याहारसुसार गर्नमै व्यस्त छौं ।’
मीना पाण्डेले केयूबीकेले दिएको समूहको एक बोयर बोका पालेकी छन् । समूहभित्रका कृषकलाई ब्याडको शुल्क एक सय र बाहिरकालाई ५ सय लिने गरिएको छ । अहिले बाख्रा पाल्ने तरिका परम्परागतभन्दा भिन्दै छ । खोर आधुनिक छ । जमिनभन्दा अग्लो खोर । सरसफाइ, जुकाको औषधि, खनिज ढिक्का खुवाउने र स्याहारसुसारमा राम्रो ध्यान दिएको उनले बताइन् । कृषक पठशालामा बाख्रा पाल्ने र बोकाको तौल बढाउने उपायबारे छलफल र प्राविधिकबाट ज्ञान लिने गरिएको उनले सुनाइन् ।