वीरेन्द्र केसी कान्तिपुर
छत्रदेव, अर्घाखाँची । छत्रदेव गाउँपालिका ९ चौहाका भोलानाथ बञ्जाडेको करेसाबारीमा सिमी, बोडी, आलु, काउलीलगायत थोरै मात्र उत्पादन हुन्थ्यो ।
परिवारलाई कहिलेकाँही हरियो तरकारी खानका लागि । बीउ किन्न बजारकै भर पर्नुपथ्र्यो । राम्रो बीउ परे राम्रै फल्ने । कहिले त सिमीको बोट मात्रै । कोसा एक किलो पनि हुँदैन थियो । छोराछोरीको पढाइ र घरखर्च धान्न नसकेरै रोजगारी खोज्दै उनी साउदी पुगे । त्यहाँ ६ वर्ष बिताए । ‘विदेश भन्दैमा पैसाका बिटा पाइँदो रहेनछ,’ उनले अनुभव सुनाए, ‘कम्ती दु:ख छैन, घडीको तालमा काम नगरी तलब पाइँदैन ।
विदेश पुगेर गर्ने श्रमले त आफ्नै खेतबारीमा निकै प्रगति गर्न सकिने उनले बताए । थोरै बारीमा धेरै फलाउने तरिकाले खेती गरे जग्गा पनि धेरै चाहिँदैन । चार रोपनी बारीमा सिमी र गोलभेडा लटरम्मै फलेको छ । उनले आफ्नो उत्पादन खानभन्दा बीउमा लगाउँछन् ।
तरकारीसँगै सिमीको बीउ उत्पादन गरेर बिक्री गर्छन् । ‘दोकानमा बर्सेनि बीउ किन्दा सधैं एउटै पाइँदैन,’ उनले भने, ‘कहिले कोसाविहीनको झाल मात्रै हुन्छ ।’ आफैंले फलाएको बीउ गाउँमै बिक्री हुन्छ । तरकारीको बीउ उत्पादन गर्न उनकी श्रीमती उमा पनि सक्रिय छिन् । श्रीमान्–श्रीमतीको जोडबलले गाउँका अरूले पनि तरकारी खेती गरेर पछ्याइरहेका छन् । ‘श्रीमान् विदेश हुँदा कसरी काम गर्नुभएको होला भन्ने मात्रै चिन्ता हुन्थ्यो,’ उमाले भनिन्, ‘अहिले त सँगै छौं । सबै काम बाँडेर गर्छौं ।’ बारीमा लगाएको सिमीको बोटलाई सिँचाइ, मलजल, झिक्रोमा धेरै कोसा फलाउनेमै ध्यान जान्छ । रोग–कीरा लाग्न नदिने र उत्पादन बढाएर आम्दानी कसरी बढाउने भन्नेमै दिमाग लगाएर काम गरिएको उनले सुनाइन् । वर्षमा डेढ लाख रुपैयाँ बीउ र तरकारी बिक्री गरेर बचत भएको उनले बताइन् । ‘काम गर्दै गएपछि सिकिँदो रहेछ,’ उनी भन्छिन्, ‘जति अनुभव बटुल्यो, त्यति धेरै उत्पादन हुन्छ । आम्दानी बढ्ने नै भयो ।’
चौहा समथर भूभागमा राम्रो उब्जनी हुन्छ । बीउ किनेर तरकारी खेती गरेका बञ्जाडे दम्पतीसहित अन्य कृषकलाई गाउँमै बीउ उत्पादन गर्न उन्नत बीउ बिजन कार्यक्रम (केयूबीके) ले तरिका सिकाएपछि थप ऊर्जा प्राप्त भयो । बीउ उत्पदान गर्न कृषक समूह गठन भएको छ । समूहमा आबद्ध २४ कृषकमध्ये ६ पुरुष छन् । धान, मकै, गहुँ र सिमीको बीउ उत्पादन भइरहेको समूह अध्यक्ष बञ्जाडेले बताइन् । पछिल्लो सयम मकैको बीउ २८ क्विन्टल, गहुँ २८ सय किलो, धान एक टन र सिमी ५ सय ५० किलो बिक्री भएको उनले सुनाइन् । बीउ उत्पादनसँगै अन्नबाली र तरकारी खेतीमा आधुनिकीकरण गरेपछि २४ परिवार स्वरोजगार भएका छन् ।
कृषि विकास कार्यालयको प्राविधिक सहयोग र केयूबीकेको लगानीमा कृषिमा आधुनिकीकरणले रोजगारी खोज्दै विदेशिनेको संख्या घटाएको स्थानीय शान्ता बञ्जाडेले बताइन् । ‘खेतबारीको उब्जनीले परिवारलाई खान पुगेको छ,’ उनले भनिन्, ‘घरखर्चका लागि बीउ र तरकारी बेचेर आम्दानी हुन्छ ।’ उनले वर्षमा लाख रुपैयाँ जति बचत पनि भएको बताइन् ।