आयरल्याण्डमा गर्भपतनसम्बन्धी कानुनलाई उदार बनाउने पक्षमा मतदान भएको सर्वेक्षणहरुले देखाएका छन् ।
गर्भपतनसम्बन्धी कानुनमाथि भएको जनमत संग्रहपछिको मत सर्वेक्षणले कानुनलाई उदार बनाउनुपर्ने पक्षमा मतदान भएको देखाएको हो ।
द आइरिस टाइम्स र आरटीइले गरेको मत सर्वेक्षणका अनुसार ६९ प्रतिशत मतदाताले गर्भपतनमाथि सशक्त प्रतिबन्ध लगाएको संवैधानिक व्यवस्था हटाउने पक्षमा मतदान गरेका छन् ।
जनमत संग्रहको मतगणना भने आज हुने बताइएको छ । आयरल्याण्डका प्रधानमन्त्री लीओ भराडकरले मुलुकले ‘इतिहास रच्न लागेको’ जस्तो देखिएको बताए ।
उनले गर्भपतनसम्बन्धी कानुनमा सुधार ल्याइनुपर्ने पक्षधर अभियानलाई समर्थन गरेका थिए ।
जनमत संग्रहमा मतदातालाई आठौं पटक संशोधन गरिने भनिएको संविधानमा भएको प्रावधान हटाउनुपर्छ वा राख्नुपर्छ भन्ने प्रश्न सोधिएको थियो ।
अहिलेको संविधानमा गर्भवती महिलालाई जस्तै गर्भमा रहेको बच्चालाई पनि अधिकार रहेको उल्लेख छ ।
आरटीइले गरेको मत सर्वेक्षण अनुसार हटाइनुपर्ने पक्षमा ६९ दशमलव ४ प्रतिशतले मतदान गरेका छन् भने ३० दशमलव ६ प्रतिशतले अहिलेको प्रवाधानलाई निरन्तरता दिनुपर्ने पक्षमा मतदान गरेका छन् ।
द आइरिस टाइम्सले सार्वजनिक गरेको जनमत सर्वेक्षणको नतिजा अनुसार हुन्छ भन्ने पक्षमा ६८ प्रतिशतले र हुन्न भन्ने पक्षमा ३२ प्रतिशत मतदाताले मत खसालेका छन् ।(एजेन्सी)