सौर्य नारायण न्यौपाने
पटौटी जुकेपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका वार्ड नम्बर ४ पटौटीमा कृषकहरु आफ्नो खेतबारीमा लगाएको बाली बाँदरले नष्ट गरेपछि चिन्तित बनेका छन् ।
साविक पटौटी वार्ड १,२,८,९ का बाँदरबाट पीडित किसानहरुले शनिबार बाँदरलाई धपाउँनको लागि थालेधाट चोराहामा भेला गरेका छन् ।
बाँदरको प्रकाेप नियण्त्रण गर्न पटाैटी ९ काे चाैराहा थालेघाटमा सयौं स्थानियबासीकाे उपस्थितिमा भएको भेलाले चिरञ्जीवी घिमिरेकाे संयाेजक र बिष्णु प्रसाद अधिकारीकाे सह संयाेजक रहेकाे एक २३ सदस्यीय समिति गठन गरिएको छ । आज सम्पन्न भएको भेलाले खेतिकाे रक्षाकाे लागि पाणिनी गाउँपालिका र पटाैटी वार्ड कार्यालयमा ज्ञापन पत्र बुझाउने र अन्य अावश्यक पहल गर्ने लगायतका निर्यण गरेको छ ।
पाणिनी ४ पटौटी साबिक १ का देउरालीडाँडाको भिर्कुना, गडशैली, सिम्ले यस्तै वार्ड २ को तल्ला पटौटी, पाडेबारी, कोल्पाटा टोल, जुकेपानी, काभ्रे पानी, धाउखानी टोल, वार्ड ८ को तल्लानिगाली, सल्लेरी, दमार, चिउरेडाँडा, वार्ड ९ को चोराहा, आइन्डाडा, पाखापानी, थालेघाट, टाकुरा, मियालपानी बाँदर प्रभावित गाउँ हुन् । बाँदरको नाका मियाल पानी खारखोला हो ।
गाउँले अर्घाखाँचीडट्कमलाई बताए अनुसार ढोरपाटन सडक, गुल्मी जाने फास्ट ट्याक बाटो गाउँ-गाउँको बिचबाट भएकोले घर, खेतीबालीमा बादर पस्न थालेको हो ।
यहाँका किसानका अनुसार हिउँद र वर्षाका बेला पाक्न लागेका मकै, गहुँ जोगाउन बारीमै पहरा दिए पनि जोगाउन मुस्किल छ । अन्न खान आएको बाँदरलाई धपाउँदा उल्टै मान्छेतिर जाइलाग्ने र आक्रमण गर्ने गरेको स्थानियबासीले सुनाए । बाँदरको बगालले घरको छानो भत्काइदिने गर्दा लुकेर बस्न बाध्य भएका छन् । धपाउँदा भागेजस्तो गर्छन् तर केही छिनमै झुक्याएर आइहाल्छन् । बाँदरले घरभित्रै पसेर अन्न खाइदिन्छन् ।
आफ्नो जमिनमा आफैले मौसम अनुसार लगाएको खाद्यान्न बाली, तरकारी र फलफुलबाट बाँदरका कारण ठूलो नोक्सान व्यहोर्न बाध्य हुन परेको कृषकहरुको गुनासो छ । बाँदरकै कारण कतिपय कृषकहरु बेसाहा खान बाध्य भएको स्वयम् कृषकहरु नै बताउछन् । उनीहरुका अनुसार बाँदर धपाउन घरमा भएका भरुवा बन्दुक द्वन्द्वको समयमा तत्कालिन माओवादी र सुरक्षाकर्मीले लगेपछि बाँदरबाट धेरै सास्ती खेप्नु परेको हो । बाँदर धपाउन अन्य बैकल्पिक उपाय नभएकाले द्वन्द्वको समयमा माओवादी र सुरक्षाकर्मीले लगेको भरुवा बन्दुक फिर्ता गर्नु पर्ने बाँदर पीडित कृषकहरुको भनाई छ ।