सन्धिखर्कमा नेवि संघको मशाल जुलुस माथि प्रहरी हस्तक्षेप (भिडियो र तस्बिर सहित)
जेष्ठ २६ गते, २०७५ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ अर्घाखाँचीले पेट्रोलियम पदार्थमा गरिएको उच्च मूल्यवृद्धि विरुद्ध सन्धिखर्कमा मशाल जुलुस निकालेको छ ।
नेपाल विद्यार्थी संघ अर्घाखाँचीले पाणिनी बहुमुखी क्याम्पसबाट निकालेको मशाल जुलुश शान्तीबगैँचामा आएर कोणसभामा परिणत भएको थियो ।
उता मूल्यवृद्धि विरुद्ध सन्धिखर्कमा निकालेको मशाल जुलुश माथि प्रहरीले हस्तक्षेप गरेको थियो ।
मशाल जुलुशपछि शान्तीबगैँचामा आयोजना गरिएको कोणसभामा नेपाली कांग्रेसका जिल्ला सभापती विष्णु मुस्कान बोलेका थिए । उनले सरकारले मंहगी बढाएर अत्याचार गरेको भन्दै शान्तीपुर्ण आन्दोलनमा प्रहरीको दमन अतिवादी भएको भन्दै दशौ हजार कार्यकर्ता ल्याएर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय घेराउ गर्नेसम्मको चेतावनी दिएका थिए ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष युवराज पाण्डे समेत बोलेका थिए । उनले ओली सरकारले गरेको मूल्यवृद्धि फिर्ता नभए नेविसंघले कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए ।