सन्धिखर्कको नयाँ बसपार्क वर्षौदेखि फोहोरको डङ्गुर, सन्धिखर्क नगरपालिकाले केही गरेन् (फोटो फिचर)

प्रेम खड्का 
बसपार्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कको नयाँ बसपार्क फोहोर र दुर्गन्धित भएको छ । 
“सफा सन्धिखर्क स्वच्छ सन्धिखर्क” भने नारा बोकेर बांगीखोलामा कहिलेकाही सरसफाई गरेको समाचार आएतापनि जिल्लाको एक मात्र बसपार्क वर्षौदेखि फोहोर र दुर्गन्धित भएको हो । दैनिक दर्जनौँ सवारीसाधन पार्किङ गरिँदै आएको सन्धिखर्कको बसपार्क फोहोरको डङ्गुरले भरिएको छ । 
बसपार्क क्षेत्रको ढल तथा कुलेसाहरूको माटो र झारपात सफा नगर्दा र फोहोरको राम्रो व्यवस्थापन नहुँदा यस क्षेत्रभरका चोक तथा गल्लीहरू प्रदुषित बनेका छन् । बसपार्क कुलेसामा भएको माटो र झारपात तथा बसपार्कमा बनेका खाल्डा नपुर्दा पानी र फोहर जमेर दुर्गन्धित भएको छ । बसपर्कका छेउछाउमा दिसापिसाव गर्दा बातावरण प्रदुषण भएको छ । यस क्षेत्र वरपर दिसा गन्धको आउने गर्द्छ ।  यस बसपार्कमा वर्षायाममा हिलो र हिउदमा धुलो फोहोर डङ्गुरले भरिएको देखिन्छ ।  
हरेक शुक्रबार यहाँ हाडबजार लाग्ने गर्दछ, यहाँ जताततै फोहोर र दुर्गन्धित त छदैछ त्यो माथि सार्वजनिक शौचालय प्रयोग गर्न नसक्ने अवस्थामा पुगेको छ । फोहोर लेदो जमेर हरियो हुँदा समेत सन्धिखर्क नगरपालिका भाडा, कर र फुटपाथ पसलबाट रकम असुली मात्र गरिरहेको र सरसफाई, मर्मत केही नगरेको भन्दै त्यस ठाउँका व्यापारीहरूले गुनासो गरेका छन् ।  नगरपालिकाले फोहोर, पानी र ढलको निकास व्यवस्थान नगर्दा बसपार्क क्षेत्र दुर्गन्धित भएको र पसलमा बस्न पनि समस्या भएको त्यहाँका व्यापारीहरुले बताएका छन् । व्यापारीहरूले होटेल, पसल सञ्चालन गरेर बस्न समेत कठिन भएको र पानी र फोहोरका कारण ग्राहक पसलमा छिर्न समेत समस्या भएको गर्छन् ।
सन्धिखर्कको यस बसपार्कमा दैनिक दर्जनौ यात्रुबाहक बस आउने – जाने गर्दछन् । हजारौ यात्रुहरु नाक छोपेर, मास्क लगाएर यस बसपार्कमा आवतजावत वाध्य भएका छन् । यहाँ यात्रुलाई प्रतिक्षालयको समेत अभाव रहेको छ ।  दुर्गन्धलेे झाडापखाला लगायतका सरुवा रोगको महामारी फैलिन सक्ने चिकित्सकहरू बताउँछन्। 
अनावश्यक ठाउँमा करोडौ रुपैया बजेट खर्च गर्ने सन्धिखर्क नगरपालिकाले जिल्लाको एक मात्र बसपार्कलाई अहिले सम्म एकपैसा खर्च गर्न सकेको छैन् ।  सन्धिखर्क नगरपालिका भित्रका मापदण्ड र काम कारवाहीका विषयमा पटक पटक सञ्चारमाध्ययमा आवाज नउठेको भने होइन तर पनि सम्बन्धित निकाय मौन बसेको सरोकारवालाहरूको आरोप छ । स्थानीयहरूले सन्धिखर्क नगरपालिकाले स्थानीयहरूलाई सेवा दिन नसकेको आरोप उनीहरूले लगाएका छन् ।