वीरेन्द्र केसी
खिदिम, अर्घाखाँची । अर्घाखाँची दूध उत्पादनमा अगाडि छ । यहाँ दैनिक १० हजार ५० लिटर दूध बिक्री हुन्छ । जिल्लाबाहिर २ हजार लिटर जान्छ ।
छत्रदेव गाउँपालिकाको मरेङ, अर्घातोष, भगवती गाउँबाट सदरमुकाम तम्घासमा मात्रै १ हजार लिटर दूध जान्छ । पाणिनी गाउँपालिकाको खिदिम, पणेना, पटैटी, पोखराथोक गाउँबाट दैनिक रूपमा पाल्पाको तानसेनसम्म दूध जाने गर्छ ।
शीतगंगा नगरको पावरा, विक्रमसोता, ठाडा, चाक्ला, कपिलवस्तुको पथ्थरकोट, पिपरा र चार नम्बर बजारसम्म यहाँका कृषकले दूध बेच्न लैजान्छन् । मालारानी, भूमिकास्थान गाउँपालिका र सन्धिखर्क नगरपालिकाबाट सदरमुकाम र विभिन्न बजारमा दूध खपत भएको वरिष्ठ पशु विकास अधिकृत डा. लोकनाथ पौडेलले बताए ।
‘दूधको माग अत्यधिक छ,’ उनले भने, ‘अब ट्यांकरमा बुटवल र कपिलवस्तुका डेरी उद्योगमा पठाउने गरी दूध उत्पादन गर्ने लक्ष्य छ । जर्सी गाई पालेर मनग्य आम्दानी भएपछि पढेलेखेका युवासमेत यसतर्फ तानिएका छन् ।’ पटैटीको नियालीमा देउराली छुर्पी उद्योगमा दैनिक १ हजार १ सय लिटर दूध खपत हुन्छ । त्यहाँ दूधका विभिन्न परिकार बन्छन् ।
अर्घाखाँचीमा ६ स्थानमा चिस्यान केन्द्र छन् । दूध संकलन केन्द्र ५० छन् । ‘यहाँ वर्षमा ३२ हजार मेट्रिक टन दूध उत्पादन हुन्छ,’ पौडेलले भने, ‘त्यसबाट १ अर्ब ६० करोड रुपैयाँको कारोबार हुन्छ ।’ समूह र व्यक्तिमार्फत डेरीमा जाने दूधको तथ्यांकअनुसार महिनामा ९ करोड रुपैयाँको कारोबार हुन्छ ।