अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका विभिन्न सडकमा गरिएको कालोपत्रे दुई महिना नपुग्दै भत्किन थालेको छ । वर्षायाम शुरु हुन लाग्दा कालोपत्रे गरिएको र गुणस्तरहीन सामान प्रयोग भएका कारण सडक भत्किन थालेको हो ।
सन्धिखर्कमा गरिएको कालोपत्रे ठाउँ–ठाउँमा उक्किएर खाल्डा पर्न सुरु भइसकेको छ । कालोपत्रे गर्न प्रयोग भएका गिट्टी र अलकत्राको गुणस्तरबारे पनि स्थानीयस्तरमा टीकाटिप्पणी सुरु भएको छ ।
सडक मर्मत र कालोपत्रे गर्न चाहिने चिप्स गिट्टीसमेत नहालिएको र पहिले बेस बनाउँदा प्रयोग भएका गिट्टी पनि गुणस्तरहीन भएकाले सडक भत्केको स्थानियबासीको भनाई छ ।
कालोपत्रे गरिएको सडकखण्डको काम सकिन नपाई भत्कन थाल्नुलाई ठेकेदारको चरम लापारबाही र सडक डिभिजन कार्यालय तथा अन्य सरोकारवाला निकायको बेवास्ता भन्दै स्थानीय वासिन्दा आक्रोशित समेत भएका छन् ।
सडक कालोपत्रे गरिदै छ भन्दै सन्धिखर्कका मेयर कमल प्रसाद भुसाल र उपमेयर ठाकुर कुमार बिकले सामाजिक सन्जाल फेसबूकमा दैनिक जसो फोटोहरु पोस्ट गरिदै आएपनि आफ्नो मिलिमेतोमा सडक ठेक्का दिएका ठेकदारहरुको चरम लापारबाहीले गुणस्तरहीन सामान प्रयोग भएका कारण सडक भत्किन थालेको स्थानियबासीको आरोप छ ।
लामो समयसम्म धुवाँधुलो खाएर बस्न बाध्य यहाँका सडक वरपरका बासिन्दालाई सडक कालोपत्रे भएपछि राहत मिले पनि कम गुणस्तरका कारण छिट्टै सडक बिग्रन थालेपछि स्थानीयवासीलाई फेरि धुलोले सताउने चिन्ताले पिरोल्न थालेको छ ।
उता जिल्लाभरका पिच सडकको अवस्था यस्तै छ । गोरसिङे देखि सन्धिखर्क सडक खण्ड जिर्ण बन्दै गएको छ । सडक भासिने र खाल्डाखुल्डी हुदा दैनिक यात्रा कष्टकर बन्दै गएको यात्रुहरुको गुनासो रहेको छ ।
सन्धिखर्कमा मात्र नभई जिल्लाका जुनसुकै ठाउँमा पनि कामचोर ठेकदारहरुले गुणस्तरहीन सामान प्रयोग गरेको सन्धिखर्कका एक व्यापारीले बताए । करोडको ठेक्कामा २५ % काम र बाँकी लुट्दै आएका छन् । सन्धिखर्कमा ठुला- ठुला घर बनाउने सबै लुटेको पैसाले हो, सबै व्यापारी, ठेक्दार चोर हुन्; इमान्दार तरिकाले २०,२५ लाखको भन्दा ठुलो घर कसैले गराउन सक्दैन, ति व्यापारीले नाम उल्लेख नगर्ने सर्तमा बताए ।