जिल्ला प्रशासन कार्यालय अर्घाखाँची
प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची असार ८ । झुटो विवरण पेश गरी भारतीय महिलाले बंशजको नागरिकता लिएपछि शितगंगा नगरपालिका १३ का वार्ड अध्यक्ष सहित तीनजना पक्राउ परेका छन् ।
वडा नम्वर १३ सिमलपानीका चुडामणि भाट क्षेत्रीले श्रीमती भारतीय महिला सीता भाट क्षेत्रीलाई नेपाली नागरिकता बनाउन झुठो विवरण दिएको भन्दै कर्णबहादुर भाट क्षेत्री, मनि भाट क्षेत्री र वडाअध्यक्ष दुर्गाबहादुर बिसीलाई प्रहरीले पक्राउ गरेको हो ।
भारतीय महिलालाई नागरिकता प्रमाणपत्र दिलाउन कर्णबहादुर भाट क्षेत्रीले बुवा र मनि भाट क्षेत्रीले आमा बनेर झुटो विवरण पेश गरेर कीर्ते गरी नागरिकता दिलाएको भेटिएपछि उनीहरुलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदिपकुमार डिसीले जानकारी दिनुभयो ।
बुबा आमाको नाता कायम गरी वडाध्यक्ष बिसीले जन्म दर्ताको प्रमाणपत्र समेतको सिफारिस लिई वंशजको आधारमा मिति २०७४ साउन २३ गते नेपाली नागरिकताको प्रमाणपत्र बनाएका थिए ।
नक्कली नागरिकता बनाउन लगाउन योजना बनाउने चुडामणि भाट क्षेत्री भने फरार छन् ।