जंगबहादुर राणाको न्वरान भएको, कालिगढको हातै काटिएको बल्कोटको पौवा ओझेलमा

प्रेमनारायण आचार्य
बल्कोट, अर्घाखाँची । जंगबहादुर राणाको न्वरान भएको स्थान भनेर चिनिने बिचित्रको बल्कोटको पौवा प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । अर्घाखाँचीको छत्रदेव गाँउपालिकामा पर्ने लामो इतिहास बोकेको ऐतिहासिक पौवामा दिनहुँजसो राजनीतिक भेटघाट र कार्यक्रमहरु भएपनि यसको संरक्षणमा कसैको ध्यान जान सकेको छैन ।
प्रधानमन्त्री जंगबहादुर राणाको पालामा तत्कालिन कर्नेल सनद सिंह टण्डनको नेतृत्वमा कालिगढको अत्यन्तै आकर्षक शैलीमा बनाइएको पौवा र त्यस भित्र शिबालय मठ, तथा अन्य मन्दिरहरु समेत रहेका छन् । 
बिक्रम सम्बत १९ सय ४ सालमा निर्माण गर्न सुरु गरिएर १० बर्षको समय लगाएर पौवा तथा मन्दिरहरु निर्माण गरिएको स्थानीय  ७५ बर्षिय टेकराज पौडेलले बताउनु भयो । 
जंगबहादुरको बुबा बालनरसिंह राणा आर्मी अफिसर थिए । उनी बारुदखाना प्युठानको प्रमुख थिए । १८ सय ६० को दशकमा जुम्लाको सिंजा प्रान्तमा गुठीको जग्गाले बिबाद बढायो । बिबाद बढेपछि गुठीको बिबाद समाधान गर्न बालनरसिंहलाइ १८ सय ६९ मा जुम्ला खटाइएको थियो । जुम्लामा उनी श्रीमतीलाइ लिएर गएका थिए । 
जुम्लामै रहदा श्रिमती गर्भवती भईन् । त्यो समयमा गर्भवती हुदा माइती जाने प्रचलन थियो । उनी तत्कालिन प्रधानमन्त्री भिमसेन थापाकी बहिनी थिईन् । जुम्लाबाट माइती गोर्खा जाने क्रममा अर्घाखाँचीको वांगलामा रहेका लामपाटी अर्थात मथुरामा विक्रम सम्वत १८ सय ७४ सालमा उनले ७ महिनामा बच्चा जन्माईन् । अर्थात जंगबहादुर ७ महिनामा जन्मिएका थिए । 
त्यसबेला लामपाटीमा घनाघोर जंगल रहेको थियो । नजिकैका कृषकहरु पाण्डे थरकाले उनको स्याहार सुसार गरेको र पछि बल्कोटको पौवा रहेको स्थानमा लगि सुत्केरी र बच्चालाइ राखेका थिए । त्यहि स्थानीय खनाल थरका ब्राह्मणहरुले न्वरान गराएर त्यो बालकको नाम विरनरसिंह राखेको सस्कृतिमा रुची राख्ने स्थानीय नारायण भट्टराइले बताउनुभयो । सुत्केरी दरिली भएपछि उनी माइती गोर्खा गएकी थिईन् । पछि विरनर सिंह जंगे स्वभावको भएको हुनाले उनको नाम जंगबहादुर रहेको थियो उनको भनाई छ । 
जंगबहादुरको जन्म कतिले गोर्खामा र कतिले काठमाण्डौको थापालीमा भएको भन्ने गरिएको छ । उनी लाम्पाटीमा जन्मिएका थिए । त्यसैले जन्मको बारेमा एउटै ठाउ कसैले भन्न नसकेको इतिहासकारहरुको भनाइ रहेको छ ।  
इतिहासकारहरु प्रोफेसर दिनेशराज पन्त र युवराज सम्सेर जवराले जंगबहादुर लाम्पाटीमा जन्मिएको र वल्कोटको पौवामा आएर न्वरान भएको र पछि त्यसै स्थानमा कर्नेल सनदसिंह टण्डनको नेतृत्वमा विचित्रको पौवा निर्माण भएको उल्लेख गरेको गाँउ पालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताउनु भयो । पौवाको विषयमा तत्कालिन राजा श्री ५ सुरेन्द्र शाहको पालामा चार वटा लाल मोहर लागेका थिए । ती लाल मोहर तथा इतिहासकारहरु प्रोफेसर पन्त र जवराको विष्लेषणलाइ अर्घाखाँची सम्पर्क सदनको चिनारी २०७२ मा समाबेस गरिएको उहाले बताउनुभयो । 
आफु जन्मिएको लामपाटीमा पौवा तथा बगैचा र न्वरान भएको ठाउन बल्कोटमा विचित्रको पौवा निर्माण गर्न जंगबहादुरले लगाएर कर्नेल सनदसिंहले निर्माण गरेका थिए । 
विचित्रको पौवा तथा मन्दिर निर्माण गरिसके पछि सञ्चालनको लागि सयौ विगाहा जमिन गुठीमा समेत रहेको छ ।  केहि समय अघि सम्म पौवामा रहेको मन्दिरको संरक्षण गर्ने, फुलपाती टिप्ने, कोइला लैजाने, लिपपोत गर्ने, दैनिक बिहान बेलुका बाजा बजाउनेको समेत व्यबस्था थियो छत्रदेव गाँउ पालिका २ बल्कोटका वडा अध्यक्ष राजेस पन्थीले भने हाल आएर पुजाआजा भैरहेको छ । दैनिक बाजा बजाउने कार्य हटेको छ । यसलाई प्रचार प्रसार गर्ने कार्यमा सबैले सहयोग गर्नु पर्छ । 
कर्नेल सनदसिंहको पालामा बल्कोटको पौवा, मथुराको पौवा, पाल्पा र गुल्मीको सिमानामा रहेको मनवाक पौवा, ऋणिको बगैचा, पाल्पा अर्गलीको बगैचा, जोर्तको पौवा र वाटोमा रहेका गौमुखी धाराहरु निर्माण भएको सामाजिक सस्कृतिमा अध्यन गरिरहेका नारायण भटराइले बताउनुभयो । 
बिचित्रको बल्कोटको पौवा, मन्दिर र गुठीलाइ संरक्षण गरि प्रचार प्रसार गर्ने उदेश्यले २०६६ सालमा डाक्टर गोविन्द टण्डनको नेतृत्वमा पण्डित दिनबन्दु पोखरेलको प्रवचनमा महायज्ञ लगाइएको थियो । महायज्ञ लगाएपछि प्रचार प्रसारमा अघिबढ्न खोजे पनि प्रचार प्रसार हुन नसकेको स्थानीय युवा पिताम्वर खनालले बताउनु भयो । लामो इतिहास बोकेको क्षेत्र भएपनि प्रचार प्रसारमा कसैले चासो नदिएको उहाको भनाई छ । 
सन्धिखर्क बल्कोट तम्घास सडकको छेउमा पर्ने राणाकालिन इतिहास बोकेको पौवाको प्रचार प्रसार गर्न सकेमा पर्यटकीय स्थल बनाउन सकिन्छ । यसको लागि सबैले पहल गर्न जरुरी छ ।