नरपानीमा दुई समुहबिच दोहोरो झडप, एक जना गम्भिर घाइते (भिडियो, तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता
नरपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ नरपानीमा दुई समुहबिच दोहोरो झडप भएको छ । झडपमा एक जना गम्भिर घाइते भएका छन् ।
सुपादेउराली दर्शन गर्न आएका कपिलवस्तुका युबाहरु र सन्धिखर्क ११ डिभर्नाका युबाहरुबिच शुक्रबार साँझ दोहोरो झडप भएको थियो । 
झडपमा घाइते हुनेमा डिभर्नाका सुरेन्द शाह रहेका छन् । उनको उपचारको लागि बुटवलमा रिफर गरिएको छ । उनलाई कपिलवस्तुका ४ जनाको समुहले बाँसका भाटाले हानेका थिए । उनको अवस्था  सामान्य रहेको छ ।  
ठाडा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कमल परियार र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदिप डि.सि. को नेतृत्वमा गएको प्रहरी टोलीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको थियो । घटनामा संलग्न रहेको आशंकामा कपिलवस्तुका १० युबालाई प्रहरीले नियन्त्रणमा लिएर राखेको छ । कपिलवस्तुका युबाहरु रिजर्ब बसमा आएका थिए । आक्रोशित स्थानियले बसमा क्षति समेत पुर्‍याएका छन। झडपले साँझभरी नरपानी तनाब ग्रस्त रहेको थियो । 
बिबाहको पंचेबाजामा नाचिरहेका कपिलवस्तु बनकसियाका युबाहरुबिच  सामान्य विषयलाई लिएर  दोहोरो झडप भएको बताइएको छ । उता नरपानीमा भएको कुटपिट पछि जिल्ला सदरमुकामबाट समेत दर्जनौ युबाहरु नरपानीमा पुगेका थिए भने नरपानी क्षेत्रका सयौ जनताहरुको जमघट भएको थियो।  प्रहरीले  युबाहरुलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।