शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची असार ८ । आज मध्यान्न सन्धिखर्क ६ जगतका कृषकहरु निराश हुँदै सन्धिखर्क नगरपालिका कार्यालयमा आए । उनीहरु एक गाडी तरकारी सहित नगरपालिका आएका थिए । आउनासाथ उनीहरु नगर प्रमुख कमल प्रसाद भुसालको कार्य कक्षमा छिरे ।
सन्धिखर्क बसपार्कमा रहेको हाट वजारमा तरकारी बिक्री गर्ने ठाउँ नभएपछि उनीहरु नगरपालिकामा समस्या बताउन आएका थिए । हाट बजार सफा नगर्दा बसपार्क समेत फाहोर भएपछि वस व्यवसायीहले बिक्री स्थलमा बस बिसाए । जसका कारण बिक्री गर्ने ठाउँ नै भएन । ठाउँ व्यवस्थापनको माग गर्दै उनीहरु भएभरको तरकारी लिएर नगरपालिका आएका हुन । नगर प्रमुख कमल प्रसाद भुसालले पश्चिम नेपाल वस व्यवसायी समितिका सन्धिखर्क-गोरुसिङ्गे रुट इन्चार्ज रामु बस्नेतलाई फोन गरि ठाउँ व्यवस्थापन गरिदिन आग्रह गरे । त्यसपछि कृषकहरु नगरपालिकाबाट हाट बजारतर्फ लागे । जसोतसो बसी कृषकहरुले तरकारी बिक्री गर्न थाले ।
पछिल्लो समय हाट बजारका कारण वसपार्क कुरुप बन्न थालेपछि स्थानीयले हाटबजारको विकल्प खोज्नु पर्ने माग गरेका छन् । सन्धिखर्क बसपार्कमा प्रत्येक शुक्रबार हाट बजार लाग्ने गरेको छ । बसपार्कमा हाट बजार हुँदा धुँवा धुलोले खाद्यवस्तुहरु समेत प्रदुषित हुने गरेका छन् । सन्धिखर्कको जगतबाट मात्रै ठूलो परिमाणमा तरकारी हाट बजार आउने गरेको छ । यहाँ करिव ५० जनाले व्यवसायीक रुपमै कृषि पेशा अबलम्वन गरेका छन् । कृषकहरुले प्राधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाबाट ८५ प्रतिशत अनुदानमा बलेरो जिप प्राप्त गरेका छन् । सोही जिपमा हप्ताको दुइ दिन दुइ ठाउँमा लाग्ने हाट बजारमा तरकारी पु-याउने गरेका छन् । प्रत्येक मंगलबार सन्धिखर्कको ट्राफिक लाइनमा हाट बजार लाग्ने गरेको छ । उक्त ठाउँमा पनि हाट बजारका कारण फाहोर हुने गरेको छ ।
हाट बजारमा व्यापार राखेवापत सना÷ठूला व्यवसायीहरुले प्रत्येक हप्ता ५० रुपैयाँ नगरपालिकालाई तिर्ने गरेका छन् । नगरपालिकाले टेण्डर मार्फत व्यक्तिलाई पैसा उठाउने जिम्मा लगाएको छ । पैसा संकलन गर्ने व्यक्तिले धेरै पैसा लिएर थोरै पैसाको विल दिने गरेको गुनासो कृषक तथा व्यापारीको छ । ‘हामी थोरै÷थोरै तरकारी बिक्री गर्ने कृषकहरुलाई र ठूला व्यापारीलाई एउटै शुल्क लगाउनु भएन’ जगतकी कृषक गोमा न्यौपानेले भनिन, ‘ हामी तरकारी बिक्री गर्ने कृषकहरुले फोहार गरेका पनि छैनौं ।’
स्थानीय कृषकहरुले भन्दा पनि तराइबाट आएर तरकारी, फलफुल तथा अन्य व्यवसाय गर्नेहरुले फोहोर गर्ने गरेका छन् ।
सन्धिखर्क नगरपालिकाका प्रमुख भुसालले दुबै ठाउँका हाट बजार व्यवस्थापनका लागि नगरपालिकाले एक-दुइ दिन भित्रैमा ठोस योजना बनाउने बताए । ‘फोहोरका कारण स्थानीयले बिरोध गर्न थालेका छन्’ उनले भने, ‘हाट बजारमा व्यापार गर्नेहरुले जथाभावि फाहोर गर्नुहुँदैन ।’ उनले आफ्नो व्यवसायबाट निस्केको फाहोरलाई आफै संकलन गरेर राख्नु पर्ने बताए । ‘नगरपालिकाको फाहोर उठाउने नभएर व्यवस्थापन गर्ने कार्य हो’ प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीले भने, ‘सरसफाई गर्ने कार्यमा सबैले अग्रसता लिनुपर्छ ।’